काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय सदस्यहरुलाई आफू अब नियमित डायलासिस गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराउनुभएको छ ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारको बारेमा निर्णय गर्न शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले मिर्गौलामा समस्या आएको र शरीरमा पानी जम्मा हुन थालेकोले नियमित डायलासिस गर्नुपर्ने अवस्थामा आफू पुगेको बताउनुभएको हो।
सचिवालय पदाधिकारीहरुको बैठकमा उहाँले डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपण गर्न सकिने तर सो प्रक्रिया जोखिमयुक्त रहेको बताउनुभएको थियो ।
बैठकमा भावुक मुद्रामा उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको यथार्थ पनि बताउनुभयो।
बिहान १० बजेका लागि बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री भने मध्यान्ह १२ बजे प्रवेश गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओली १ घण्टा मात्रै बस्नुभयो।
बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सिकिस्त बिरामी नभएको बताउदै भन्नुभयो,‘सबै रिपोर्ट आइसकेको छैन। रिपोर्टहरू आएपछि अन्य उपचारमा अगाडि बढ्नुपर्छ।’
प्रधानमन्त्री ओलीको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उहाँको स्वास्थ्यको अनुगमन उपचार भने थाइलैण्ड र सिंगापुरमा हुँदै आएको छ ।
गत साउन १७ गते सिंगापुर पुगेर एक हप्ता उपचार गरी फर्कनुभएका प्रधानमन्त्री ओली भदौ ५ मा पुनः सिंगापुर नेशनल हस्पिटलमा भर्ना भई चारहप्ताको उपचारपछि नेपाल फर्कनुभएको थियो ।
सिंगापुरको नेशनल अस्पतालमा प्रधानमन्त्री ओलीको प्लाज्माफेरोसिस पद्धतिबाट शरीरमा देखापरेको एन्टिबडी निकालिएको थियो।
त्यसपछि पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, बीरेन्द्र सैनिक अस्पताल र ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत बुधबार बिहान ग्राण्डी अस्पताल लगिएको थियो।
अस्पताको आईसीयूमा राखेर स्वास्थ्य परीक्षण गर्दा उहाँको शरीरको पानी अबिलम्ब निकाल्नुपर्ने देखिएपछि तत्कालै डायलासिस गरिएको थियो र २४ घण्टाभित्र बिहीबार पुन अर्को डायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई अब साताको तीन पटक डायलासिस गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।
तर नेकपाको सचिवालयका एक पदाधिकारीका अनुसार अस्पतालबाट सबै रिपोर्ट आएपछि प्रधानमन्त्रीलाई नियमित डायलासिसमा राख्ने वा पुनः मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा सचिवालयले निर्णय लिनेछ ।
प्रधानमन्त्रीले ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गरेको र अब शनिबार या आइतबार फेरि डायलासिस गर्नुपर्ने हुन्छ । उहाँलाई हप्ताको कम्तिमा ३ पटक डायलासिस गर्नुपर्ने निश्कर्षमा चिकित्सकहरु पुगेका छन् ।


















