काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक सोमबार बिहान बस्दैछ ।
पार्टी एकताको काम टुंग्याउन र मन्त्रिमण्डलको पुनर्गठनको छलफल गर्न सचिवालय बैठक तय गरिएको हो । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको झण्डै एक घण्टा लामो बैठक पछि सोमबारको बैठक तय भएको थियो।
नेकपामा पार्टीका केही निकायहरुको नेतृत्व चयन सकिएको छैन् । पार्टीका अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केही विभागमा नेतृत्व चयन गर्न बाँकी छ।
यसका अलवा प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार छलफल भएको बताइन्छ ।
प्रधानमन्त्री ओली आफ्ना धेरै मन्त्रीहरुको कामप्रति सन्तुष्ट हुनुहुन्न । त्यसैले मन्त्रि परिषद् पुनर्गठन हुँदा धेरै मन्त्रीहरुको जागीर जाने संभावना छ । सहमति जुटे उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन तयारीमा प्रधानमन्त्री ओली रहनुभएको बताइन्छ ।
प्रधानमन्त्रीले यसअघि नै सचिवालयका सबै सदस्यहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिन आदेश दिइसक्नुभएको छ ।


















