काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाले दिएको बयानबारे धारणा सार्वजनिक गर्नुभएको छ ।
आफ्नो समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी दिएको भनिएको बयानबारे बोल्नुभएको हो ।
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गर्नुभयो, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’
देउवाले निर्वाचन आयोगका तात्कालीन कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले कांग्रेसको आधिकारिकताको विवाद पर्दा ज्यानको खतरा रहेको कुरा बताएको सञ्चारमाध्यमबाट थाहा पाएको प्रसंग पनि सुनाउनुभयो ।
‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है( मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ उहाँले भन्नुभयो, ‘तर, त्यो महिला चाँहि (आयुक्त जानकी तुलाधर) नडराउने, उm डराउने कहीँ हुन्छ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त ।’
देउवाले आफू अहिले पनि कांग्रेसको सभापति भएकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि सुनाउनुभयो ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उहाँले भन्नुभयो, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’







