थिम्पु(भुटान), ३ मंसिर । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत आज दिउँसो नेपालले भुटानको रंंगशालामा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
दिउँसो २ः४५ मा भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल सुरु हुने छ। दशरथ रंगशालामा समयमै बन्न नसक्दा नेपालले आफ्नो होम म्याच फिफाको अनुमति लिएर न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो।
ुखेल हाम्रो लागि महत्वपूर्ण छ। हामीलाई खेलमा फर्कन जरुरी छ। कुवेतविरुद्ध कडा प्रतिस्पर्धा गर्नेछौं,ु नेपालका प्रशिक्षक योहान कालिन भन्छन्, ुहामी उपलब्ध खेलाडीमा केन्द्रित हुन जरुरी छ।ु
प्रतियोगिताको संघारमा टीमका अब्बल दर्जाका चार खेलाडीहरुलाई कारबाही गरेर खेलबाट बञ्चित गरेको नेपाली टीमका प्रशिक्षक कुवेतले छनोटमा उत्कृष्ट खेलिरहेकाले नेपालले प्रदर्शनमा सुधार ल्याउन जरुरी भएको बताउछन् ।
यता कुवेतका प्रशिक्षक थमेर इनाडले नेपालविरुद्ध राम्रो खेलेर ३ अंक लिने बताए। नेपाललाई कमजोर नआँक्ने उनको भनाइ छ। साथै उनले भुटानको मौसम नेपाललाई सुहाउदो भएकोले यसको लाभ नेपाललाई हुने उनले बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो। चारै जना ुनाइट क्लबुमा नियमविपरित गएको भन्दै एन्फाले कुवेतविरुद्धको टीमबाट बर्खास्त गरेको थियो।
नेपालले छनोटमा सुरुवातीमा चार वटै अवे म्याच खेलिसकेको छ। जसमा नेपालले ३ खेलमा हार र १ खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७.–० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५–० र चौथो खेलमा जोर्डनले ३–० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
कुवेत ४ खेलबाट ७ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। अघिल्लो खेलमा कुवेतले चाइनिज ताइपेईलाई ९–१ गोलले पराजित गरेको थियो।


















