Prakash Adhikari November 21, 2019

वाशिंटन(संयुक्त राज्य अमेरिका),५ मंसिर (बीबीसी) । अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन्।

उनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा त्यस्तो बयान दिएका हुन्।

युरोपेली सङ्घ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले त्यस्तो आदेश ट्रम्पका निजी वकिल रुडी जुलिआनीबाट आएको बताए।

जाँचबुझसम्बन्धी सुनुवाइले राजनीतिक लाभका लागि ट्रम्पले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध छानबिन गर्न युक्रेनलाई दबाव दिएको कुरा पुष्टि गर्न चाहेको छ।

दबाव

ट्रम्पमाथि त्यो दबाव दिन युक्रेनलाई दिइने सैन्य सहायता रोकेको आरोप छ। तर ट्रम्पले त्यो अस्वीकार गर्दै आएका छन्।

अमेरिकामा चुनावी लाभका निम्ति विदेशी सहायता खोज्नु गैरकानुनी मानिन्छ।

बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वानमा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार हुन्।

तर राजदूत सन्डलन्डले युक्रेनबाट पाउने सहयोगको बदलामा सैन्य सहायता फुकाउने कुरा आफूले ट्रम्पबाट सीधै नसुनेको पनि बताएका छन्।

सुनुवाइ
ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्ड
ह्वाइट हाउसले उनको बयानबाट राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको दाबी गरेको छ।

तर डेमोक्र्याटहरूले राजदूतको बयानलाई महत्त्वपूर्ण र चिन्ताजनक भनेका छन्।

वाशिङ्टनस्थित बीबीसी संवाददाता लोरा ट्रिभिलियान भन्छिन्, “राजदूत गोर्डन सन्डलन्डले प्रस्ट रूपमा भनेका छन् कि लेनदेनको कुरा थियो र ट्रम्पका निजी वकिल रुडी जुलियानीले जो बाइडेनविरुद्ध अनुसन्धान थाल्न युक्रेनलाई भनेका थिए।”

बाइडन उपराष्ट्रपति रहेका बेला उनका छोरा युक्रेनस्थित एउटा व्यापारिक संस्थासँग आबद्ध थिए।

एन्थोनी जर्चर, उत्तर अमेरिका संवाददाता

महाभियोगसम्बन्धी जाँचबुझ बारेको सार्वजनिक सुनुवाइका क्रममा बुधवार गोर्डन सन्डलन्डले क्षेप्यास्त्र प्रहार गरेजस्तै छ जसले ह्वाइट हाउसको प्रतिरक्षामा प्वाल पारिदिएको छ।

त्यो प्वाल भएर पानी छिर्न थालेको छ र त्यो पानीको छालले डुबाउनुअघि ट्रम्पको कार्यकाल जोगाउन सकिएला वा नसकिएला भने प्रश्न उठेको छ।

ईयूका लागि अमेरिकी राजदूत सन्डलन्डले राष्ट्रपतिको स्पष्ट निर्देशनमा युक्रेनी नीतिबारे ट्रम्पका निजी वकिल रुडी जुलिआनीसँग काम गरिरहेका थिए।

त्यहाँ लेनदेनको कुरा थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ह्वाइट हाउस भ्रमण सर्तमा आधारित थियो।

युक्रेनले एउटा अनुसन्धान थाल्नुपर्ने सर्त थियो जसले राष्ट्रपति ट्रम्पलाई राजनीतिक रूपमा लाभ पुर्‍याउने थियो।

Share Now

Leave a comment.