Prakash Adhikari December 9, 2019

 

काठमाडौं, २३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले पार्टीका संयुक्त अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओली अनुपस्थित रहेको सचिवालय बैठकबाट पार्टीको कार्यदिशासहित विधान संशोधन गर्ने निर्णय गरेको छ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको सचिवालय बैठकले पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्नेगरी पार्टी विधान संशोधनको प्रस्ताव आगामी स्थायी समिति र केन्द्रीय समितिलमा ल्याइने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकमा कार्यदिशासहित विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरिएको जानकारी गराउनुभएको छ ।

‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ,’ श्रेष्ठले भन्नुभयो।

पार्टी एकीकरण पछि नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने बनाएको थियो ।

पार्टी एकताहुनु पहिले एमालेले मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रले एक्काइसौं शताब्दीको जनवाद रहेको थियो ।

दुबै पार्टीको विचारसमायोजन गरी एकीकृत पार्टीको दस्तावेजनमा ‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपुर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एंव लोकतान्त्रिक मूल्यसहित समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो ’ भन्ने उल्लेख गरिएको थियो ।

नेकपाले पार्टीमा उपाध्यक्षको पद पनि थप्ने भएको छ।

अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ।

गत साउनमा बसेको सचिवालय बैठक अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। विधानमा उपाध्यक्षको व्यवस्था नै नभएकाले अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भएको थियो। विधान संशोधन भएर उपाध्यक्ष पद सिर्जना भएसँगै वामदेवलाई उपाध्यक्ष बन्ने बाटो खुल्नेछ।

विधान संशोधन लगायतको विषयमा छलफल मंसिर २९ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्दै छ।

Share Now

Leave a comment.