काठमाडौं, ५ पौष(बीबीसी) । नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिबारे लेखिएको एउटा ट्वीट ‘लाइक’ र ‘रिट्वीट’ भएपछि शुक्रवार राति सामाजिक सञ्जालमा खैलाबैला मच्चियो।
उक्त ट्वीट भारतमा हिंसा चर्किँदै गर्दा विपक्षी कंग्रेस नेत्री सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गरेको विषयमा केन्द्रित थियो।
त्यसको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले ट्विटरमै “पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुन सक्ने आशङ्का” व्यक्त गरी “कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न” अनुरोध गरे।
प्रधानमन्त्रीको खाताबाट उक्त ट्वीट मेटियो र लाइक पनि हटाइयो।
https://twitter.com/kandelnirmal/status/1208063918737899522
तर सामाजिक सञ्जालमा त्यसबारे चर्चा चलिरहेको छ।
कसले चलाउँछ प्रधानमन्त्रीको ट्विटर?
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक कार्यक्रम तथा भेटघाटमा ट्विटरको चर्चा गर्दै आफैँ ट्विटर चलाउने सङ्केत गर्ने गरेका छन्।
ट्विटरमा उनको निजी खाता पनि छ।
केही साताअघि अपेन्डिसाइटिसको शल्यक्रिया गरेको दुई दिनपछि अस्पतालको शय्याबाटै उनले ट्वीट गरेर आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको भन्दै स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका थिए।

तर शुक्रवारको घटना नेपालका प्रधानमन्त्रीको आधिकारिक खाताबाट भएको हो।
उक्त खाता प्रधानमन्त्रीका सहयोगीहरूले चलाउने विश्वास गरिन्छ। आखिर कसले चलाउँछ त प्रधानमन्त्रीको ट्विटर?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीसँग भने, “त्यो गोप्य रहन्छ।”
सम्माननीय प्रधानमन्त्रीज्यकाे twitter @PM_Nepal बाट अन्यथा retweet भएकाे देखिन अाएकाे छ। पासवर्डकाे दुरूपयाेग गरि यस्ताे गरिएकाे हुनसक्ने अाशंकामा छानविन भइरहेकाे छ । तसर्थ : कुनै प्रकारकाे भ्रम र गलतफहमीमा नपर्न अनुराेध गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) December 20, 2019
“हाम्रो टोलीले त्यो कसरी दुरुपयोग हुन गयो भनेर छानबिन गरिरहेको छ। तर अहिलेसम्म थाहा हुन सकेको छैन,” नेकपाको स्थायी समितिको बैठकस्थल धुम्बाराहीमा रहेका उनले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीलाई बताए।
के थियो प्रधानमन्त्रीले रिट्वीट गरेको सन्देशमा?
शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रवार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला “देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनिया गान्धीको शान्त शैली”को प्रशंसा गर्दै त्यस्तो काम “बरु प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने” सुझाव दिएका थिए।
https://twitter.com/DilliDurAst/status/1208040193539731456
नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनको विरोधमा भारतमा अहिले हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।
उक्त कानुनलाई आलोचकहरूले मुस्लिमविरोधी मानेका छन्। दुई सातादेखि भइरहेको विरोधलाई सरकारी पक्षले दमन गर्न खोजेको बताइन्छ।
सरकारले राजधानी दिल्ली तथा अन्य केही स्थानमा इन्टरनेट बन्द गरिदिएको छ।
आन्दोलन चर्किरहेको बेलामा सोनिया गान्धीले त्यसै बेलामा भिडिओ सन्देश दिएकी थिइन्।
उक्त भिडिओ कंग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको थियो।

अवैध आप्रवासीहरू नागरिकता दिने उद्देश्यले ल्याइएको नयाँ कानुनको विरोधमा भारत अशान्त भएको छ
विजले त्यही भिडिओलाई आफ्नो सन्देशमा राख्दै ट्वीट गरेका थिए।
के भन्छन् ट्विटर प्रयोगकर्ता?
नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटरबाट उक्त सन्देश पुन: सम्प्रेषित भएको देखेर धेरै प्रयोगकर्ताहरू चकित परे। क्षणभरमै धेरैले त्यसबारे लेख्न थाले।
धेरैले शुक्रवार रातिको घटनालाई प्रधानमन्त्रीका सहयोगीहरूको ‘लापरवाही र अपरिपक्वता’ मानेका छन्।
केहीले कूटनीतिक मर्यादाबारे विचार नपुर्याइएको तथा प्रधानमन्त्री “चिप्लिन पुगेको” टिप्पणी गरे।
ट्विट डिप्लोमेसी पनि हुन्छ भन्ने ख्याल गरौं है प्रम ज्यू। नत्र *यति* ले नै नपुग्ला। 😂
— Narayan Amrit (@amritna) December 20, 2019
भुटानी पत्रकार तेन्जिङ लाम्साङले नेपालका प्रधानमन्त्रीले विजको सन्देश रिट्वीट गरेको देखिने स्क्रीनशटसहित लेखे।
In other news the official Twitter account of Nepal’s PM @PM_Nepal Retweets a tweet by Indian journalist (and my college mate) @DilliDurAst questioning Modi for not addressing the nation calmly like Sonia Gandhi over the #CAA_NRC protests.
— Tenzing Lamsang (@TenzingLamsang) December 20, 2019
पत्रकार कनकमणि दीक्षितले गरेको ट्वीटमा प्रतिक्रिया लेख्दै प्रकाशचन्द्र जोशीले “नेपालका प्रधानमन्त्रीले भारतको आन्तरिक विषयमा टिप्पणी गर्लान् र?” भन्दै प्रश्न गरे।
Will PM Oli dare tweeting about internal affairs of India ? Seems fake .
— Er Prakash Joshi (@pcjoshi17) December 21, 2019
एक ट्विटर प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा नाकाबन्दीको प्रसङ्ग पनि उल्लेख गरेका छन्।


















