पोखरा (कास्की), ५ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत पोखरामा शनिवार भएको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । यो जितसँगै काठमाडौंको प्लेअफ पुग्ने संभावना जीवितै रहेको छ ।
पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
१ सय ६० रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै जम्मा १ सय २३ रन बनायो र नतिजा काठमाडौंको पक्षमा सुम्पियो ।
निकै खराव सुरुवात गरेको विराटनगर टाइटन्सले ३ रनमा पहिलो विकेट गुमायो भने ११ रनमा ३ विकेट खेर फाल्यो । त्यसपछि ४१ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
उसका दुई ओपनर सुनील धमला र मुहम्मद जेइद आलम १।१ रनमा आउट भए ।
यस्तै राजु रिजाल १, राजेश पुलामी २ तथा दिलिप नाथपनि १ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान प्रदिप ऐरीले २९ रनको योगदान गरे ।
टिम निकै खराव अवस्थामा रहेका बेला नोमान खान र पुनित मेहराले टिमका लागि ७९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर नोमन खान २५ रनमा आउट हुँदा विराटनगरले १ सय २० रनमा सातौ विकेट गुमायो । त्यसको लगत्तै पुनित पनि ५३ रनमा बाहिरिए पछि टिमको हारको संघारमा पुग्यो । त्यसपछि विराटनगरले अरु १ रन थप्दा ३ विकेट गुमाएर अलआउट भयो ।
विराटनगरलाई रोक्न काठमाडौंका सुबोध भाटीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट हात पारे ।
यस अगाडि ब्याटिड.मा उत्रेको काठमाडौंले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर गौरव तमोर शुन्य रनमा नै आउट भए । ेत्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र जयकिशन कोल्सावालाले ४३ रनको साझेदारी गरे ।
अमित १७ रनमा पेभेलियन फर्किए । तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । उनीहरुले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।
मल्लले ४५ रनको योगदान गरे । उनले ३३ बलमा तीन चौका र २ छक्का प्रहार गरे । यस्तै कोल्सावालाले ५५ रनको अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
अन्तिममा आदिल खानले १३ रन बनाए भने सुबोध भाटीले १४ रनको योगदान गरे ।
काठमाडौंंलाई रोक्ने क्रममा बिराटनगरका पुनित मेहराले २ विकेट तथा किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानले समान १ । १ विकेट लिएका थिए।


















