पोखरा(कास्की),६ पौष । पोखरा प्रिमियर लिग (पीपीएलं) टि २० अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेलमा सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ भने पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाईटन्सलाई पराजित गरेको छ ।
जितपछि बुटवल ब्लास्टर्स ४ खेलमा ३ जित र १ हारको साथ ६ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना पक्का बलियो बनाएको छ भने चितवन राइनोज हालसम्म खेलिएका चार वटै खेलमा विजय हासिल गर्दै प्लेअफ र फाइनलको यात्रा तय गर्ने अवस्थामा पुगेको छ ।

आइतबारको हार पछि धनगढीको भने प्लेअफ पुग्ने सम्भावना सकिएको छ।
४ खेलमा धनगढीले १ जित र ३ हार बेहोरेको छ भने विराटनगरको ४ खेलमा २ जित र २ हार सहित अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ।अन्य टिमको नतिजाको आधारमा बिराटनगरको भाग्य अब तय हुनेछ।
दोस्रो खेल : धनगढी विरुद्ध बुटवल बिजयी
खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै धनगढीले दिएको १ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा बुटवलले राम्रो सुरुवात गरेको थियो। ओपनर अफ्ताबुद्दीन एहमदले ५२ रन, शंकर रानाले २५ रन, हर्ष टोन्कले ४० रन, शिभम् सिंहले अविजित १५ तथा भिम शार्कीले अविजित ७ रन बनाउदै टिमलाई विजय दिलाए।

धनगढीको लागि देब्रे हाते स्पिनर अनिल खरेलले २ तथा दीपक पुनियाले १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।
धनगढीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ६१ रन बनाएका थिए। यस्तै सन्दीप जोराले ३९ रन र सौरभ खनालले १० रन बनाए । बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।ओपनर शुबेन्दु पाण्डे १ रन, रोड्रिगो थोमस ५ रन तथा सन्दीप रजाली खाता नखोली आउट भएका थिए।
बुटवलको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए भने तिब्र गतिका बलर ललित सिंह भण्डारीले ३ विकेट लिए। अघिल्लो खेल नखेलेका सोमपालले प्रतियोगितामा पहिलो पटक बलिंग गर्दै १ विकेट लिए।
पहिलो खेल : चितवनद्धारा विराटनगर पराजित
यस अगाडि पहिलो खेलमा चितवन राइनोजले बिराटनगर टाईटन्सलाई १८ रनले पराजित गरेको थियो।

पोखरा प्रिमियर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजले पहिले ब्याटिंग गर्दै दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २८ रन मात्र बनाउदै नतिजा चितवनलाई सुम्पियो ।
१ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा अत्यन्त नाजुक सुरुवात गरेको बिराटनगरका लागि लोकेश बम ६२ रन, पुनित मेहराले २४ रन, नोमन खान १८ रन, कप्तान प्रदिप ऐरी ९ रन, सुनिल धमला ५ रन, जैद आलम १ रन, राजु रिजाल १ रन तथा राजेश पुलामी १ खाता नखोली पेभेलियन फर्किए।
१९ औं ओभरमा बिराटनगरले सबै विकेट गुमाएर १ सय २८ रन बनाउदै नतिजा चितवनलाई सुम्पियो ।
चितवनको बलिंगमा करन केसी र भुवन कार्कीले समान ३।३ विकेट लिए। रोहन मुस्तफाले २ तथा सन्नी पटेलले १ विकेट लिए। सन्नीले ४ ओभरमा २ मेडन ओभर गर्दै १० रन मात्र खर्चिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।
चितवनको लागि आरिफ शेखले सर्वाधिक ३९ रन, पारस खड्काले ३५ रन, सन्नी पटेलले अविजित २७ रन,बाबर हायातले २५ रन ,रोहन मुस्तफा ७ रन, अनिल शाह ३ रन बनाए।
बिराटनगरको बलिंगमा जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोमम्मद जैद आलमले समान १। १ विकेट लिए।


















