Prakash Adhikari January 2, 2020

सानेपा(ललितपुर),१७ पौष । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारको चयनको जिम्मा पदाधिकारीलाई दिएको छ ।

बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बुधबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको सहभागिता थिएन ।

महाधिवेशनको कार्यतालिकाको मागसहित विभाग र भातृसंस्थाहरुको म्याद थपका सम्बन्धमा फरक मत राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा संस्थापन विरोधी खेमा महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरुले मंसिर २६ गतेपछि निरन्तर केन्द्रीय समिति बैठकमा उपस्थित भएको छैन ।

बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

यद्यपि संस्थापन विरोधी पक्षले पनि राष्ट्रियसभा निर्वाचनका लागि केन्द्रीय समितिले लिएको निर्णयमा आफूहरुको सहयोग रहने जनाएको छ ।

उपसभापति विमलेन्द्र निधि र संस्थापन विरोधी खेमाका नेता डा.मिनेन्द्र रिजालबीचको भेटमा रिजालले बैठकमा सहभागी नहुने तर निर्णयमा सहयोग रहने बचन दिनुभएको थियो ।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।
जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।

त्यसमध्ये काँग्रेसको तर्फबाट एकजना पनि निर्वाचित हुने सम्भावना छैन । तर काँग्रेसले आफ्नो राजनीतिक हैसियत यथावत रहेको देखाउन उम्मेवारी दिने तयारी थालेको छ । जसमा संघीय समाजवादी दल र काँग्रेसबीच तालमेल हुुनेछ ।

प्रदेश २ बाट राष्ट्रिय सभामा पार्टीको प्रतिनिधित्व गराउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भैसकेको छ ।

Share Now

Leave a comment.