Prakash Adhikari March 18, 2020

काठमाडौं, ५ चैत  | नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९)को सम्भावित सङ्क्रमणबाट बच्न संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरूले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाइरहेको बताएको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस सन्दर्भमा मिशनमा तैनाथ शान्ति सैनिकहरूद्वारा सचेतना कार्यक्रम र सङ्क्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाएको सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भइरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाटसमेत मिशनमा तैनाथ शान्ति सैनिकहरूका लागि निरन्तररूपमा आवश्यक निर्देशन दिइरहेको छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ।

हाल विश्वका ११ वटा मुलुकहरूमा कूल ५ हजार १ सय १ जना नेपाली शान्ति सैनिकहरू कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणको जोखिमको मुल्याङ्कन गरी नेपाली शान्ति सैनिकहरूद्वारा आफ्ना अपरेसनल तथा अन्य गतिविधिहरू सीमित गरिएको र नेपाली शान्ति सैनिकहरूद्वारा स्थानीय बासिन्दालाईसमेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।’

दक्षिण सुडानले एसियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरूको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको ‘रि-डिप्पोयमेन्ट’ हाललाई स्थगित गरिएकोसमेत सेनाले जनाएको छ।

‘नेपाली सेनाले मिशनमा तैनाथ हुन जाने शान्ति सैनिकहरूलाई तैनाथ पूर्वसचेतना कार्यक्रम सञ्चालन गर्ने‚ आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने तथा स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकिन गरेपछिमात्र मिशनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस्था मिलाएको र सोही बमोजिमको जानकारी न्युयोर्कस्थ्ति संयुक्त राष्ट्र संघको मुख्यालय तथा मिशन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकेको छ,’ सेनाले भनेको छ।

Share Now

Leave a comment.