काठमाडौं, ६ चैत्र । नेपाल वायुसेवा निगमले जापानको नारिता र युनाइटेड अरब इमिरेट्स(युएई)को दुबाईको उडान चैत ३० गतेसम्मका लागि स्थगित गरेको छ।
निगमले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै यी दुई स्थानमा निगमले सञ्चालन गरेको हवाई सेवा चैत ७ गते शुक्रबारको मध्यरातदेखि चैत्र ३० गतेसम्म रोकेको जानकारी गराएको छ ।
निगमले आफ्नो विज्ञप्तिमा सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयको पालना गर्दै उडान स्थगित गरिएको जनाएको छ।
निगमले टिकट लिइसकेका यात्रुहरुलाई अर्को मितिमा यात्राको पुनर्तालिकीकरण गर्ने वा लिएको रकम फिर्ता लिने दुवै विकल्प रोज्न दिनेछ । त्यस्तै निगमले नियमित उडान भइरहेको ठाउँमा उडान रद्द गर्न चाहने यात्रुहरुले उडान हुने अघिल्लो दिनसम्म टिकट रद्द गर्न सक्ने बताएको छ।
उडान हुने अघिल्लो दिनसम्म टिकट रद्द गर्दा टिकटको पुरै रकम यात्रुहरुले फिर्ता पाउनेछन्। टिकट लिइसकेका यात्रुहरुले मिति परिवर्तन गर्न चाहे पनि थप शुल्क तिर्न नपर्ने निगमले जनाएको छ।


















