Prakash Adhikari March 19, 2020

काठमाडौं, ६ चैत्र । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनको निर्धारित मिति कोरोना भाइरस संक्रमण विरुद्ध अपनाइएको सतर्कताको कारण सरेको छ । यही चैत २८  गतेका लागि निर्धारित महासंघको साधारण सभा र र २९ गतेको केन्द्रीय कार्यसमितिको निर्वाचन अब जेठ ८ गते हुनेछ ।

नेपाल उद्योग बाणिज्य महासंघको बिहिबार बसेको बैठकले कोरोनाको संभावित संक्रामक असरविरुद्ध सरकारले चालेको सतर्कता अभियानलाई सघाउदै निर्धारित मिति पर सारेको हो । बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि देशमा सुरुभएको सचेतना कार्यक्रममा निजी क्षेत्रको नेतृत्वदायी भूमिका खेल्दै सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

सरकारले कारोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत्र मसान्तसम्म एसईई र त्रिविको परीक्षा सहित स्कूल र कलेजहरु बन्द गर्ने, धार्मिक स्थल,खेलकूद, व्यायमशाला,मनोरञ्जन स्थलहरुमा २५ जनाभन्दा बढी जम्मा हुन पावन्दी लगाउदै भोजभतेर गर्न र पार्टी प्यालेसमा पनि २५ जनाभन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएर संभावित जोखिमबाट नेपाली नागरिकलाई जोगाउने निर्णय गरेको थियो ।

उद्योग बाणिज्य महासंघको बार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री वा राष्ट्रपतिले गर्ने परम्परा रही आएको छ । देशभरका प्रतिष्ठित उद्योगी,व्यापारी, राजनेता, नीति निर्माताहरुको जमघट हुने महासंघको बार्षिक साधारण सभा कोरोनाविरुद्ध सरकारले चालेको सचेतता र सतर्कता अभियान अवधिभर हुन नसक्ने अवस्था छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिको बुधबार बसेको बैठकले २३ बूँदे निर्णय गरेपछि महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष चण्डिराज ढकालका बीचमा साधारण सभा र निर्वाचन कम्तिमा १ महिना पर सार्ने विषयमा परामर्श भएको थियो ।

५४ औं बार्षिक साधारण सभाले महासंघको भावि नेतृत्व चयन गर्नेछ । महासंघमा बरिष्ठ उपाध्यलाई नै भावि सभापति बनाउने गरी विधानमा व्यवस्था गरिएको छ । महासंघको यसपछिको नेतृत्व लिनका लागि महत्वपूर्ण मानिएको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिन महासंघका उपाध्यक्ष द्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान मैदानमा उत्रिनुभएको छ ।

Share Now

Leave a comment.