Prakash Adhikari March 19, 2020

काठमाडौं, ६ चैत्र । विश्वमा महामारीको रुपमा लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रास देखाएर सेयर बजार बन्द गर्ने तयारी गर्न लागिएको छ ।

धितोपत्र कारोबारमा संलग्न लगानीकर्ताहरुको एक प्रतिनिधि मण्डलले धितोपत्र बजार रोक्ने माग सहित नियामक निकाय गुहारेपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले नियमानुसार बन्द गर्नतर्फ प्रयास गरिने आश्वासन दिनुभएको छ।

छलफलमा धितोपत्र ऐन २०६३ ले बजार सञ्चालक (नेप्से) लाई ५ दिनसम्म कारोबार बन्द गर्ने अधिकार दिएको छ। त्यो अधिकार प्रयोग गर्नको लागि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डलाई अनुरोध गर्नुपर्नेछ। उसको अनुरोधमा बोर्डको सञ्चालक समितिले यसमा मुनासिब सम्झेमा बढीमा ५ दिन बजार बन्द गर्न अनुमति दिन सक्छ ।

कोरोना भाइरसको कारण विश्व सेयर बजारमा गिराबट आएपनि ठुला सेयर बजार नै बन्द भने गरिएको छैन् । बरु सरकारलाई समग्र अर्थतन्त्रको उद्धार र राहतको प्याकेज घोषणा गर्न उत्प्रेरित गरिएको छ । अर्थतन्त्रको ब्यारोमिटर मानिएको सेयर बजारको सुधारका लागि विशेष योजना सार्वजनिक भएका छन् ।

नेपालको सेयर बजारमा कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रभाव केही दिएको भएपनि यो घटेर २०१९ को नोभेम्बर २६ को तहमा पनि आइपुगेको छैन् । जुन दिन नेप्से ११०९.१७ विन्दुमा थियो ।

नेप्सेमा सूचीकृत कुनै पनि उद्योग, व्यापारिक र सेवा मूलक कम्पनीहरु बन्द नभएको अवस्थामा ती कम्पनीको सेयरको मात्रै कारोबार हुने बजार किन बन्द गरिन खोजिदैछ ? जबकी नेपालमा सरकारले सम्पूर्ण सरकारी कार्यालय,संस्थानहरु कुनै पनि क्षेत्रका खास बजारहरु बन्द गरेको अवस्था पनि आएको छैन ।

नेपाल स्टक एक्सचेञ्ज बन्दै गर्न परेको खण्डमा ब्रोकर कार्यालयबाट हुने कारोबार बन्द गर्ने र अनलाईन कारोबार भने सुचारु गर्ने मनस्थितिमा छ।

नेपालमा सेयर बजारमा स्थायित्व ल्याउनका लागि केही नीतिगत व्यवस्था लागु गर्न पनि यो उपयुक्त अवस्था मानिएको छ । नेपाल धितोपत्र बोर्डले बजारमा अस्वभाविक रुपमा उतार चढाव हुन नदिन मार्केट डिलरको काम गर्ने बाटो खोलेको छ तर अहिलेसम्म सो कार्य हुन सकिरहेको छैन् ।

बजारमा थुप्रै म्युचुअल फण्डहरु आए पनि बजारलाई स्थायित्व दिन तिनीहरुले खास भूमिका निर्वाह गर्न सकेका छैनन् । तिनको लगानीको अनुगमन र नियमन गर्न आवश्यक भैसकेको छ ।

बजार संयन्त्रलाई नै सक्रिय नपारिकन कोरोनाको त्रास देखाएर बजार नै बन्द गर्ने कार्य उत्पादक हुन्छ या प्रत्युत्पादक भन्न सकिन्न ।

Share Now

Leave a comment.