Prakash Adhikari March 22, 2020

काठमाडौं, ९ चैत्र । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालसंग प्रत्यक्ष सीमाना जोडिएका भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान १० बजेदेखि दुवै देशको सीमानामा रहेका नाकामा आवागमन बन्द गरिने छ।

कोरोना भाइरसको उद्गम भएको उत्तरतिरको छिमेकी मुलुकसंगको सीमाना उच्च हिमालयहरुको प्राकृतिक पर्खाल रहेकोले केही निश्चित नाकाहरुबाट मात्र नेपाल प्रवेश गर्न सकिन्छ तर पूर्व,पश्चिम र दक्षिण गरी तीनैतिर सीमा जोडिएको भारतसंग खुला सीमानाका कारण औपचारिक भन्सार नाकाबाहेकबाट पनि आवागमन हुने गरेको छ ।

खुला सीमाना भएको भारतमा कोरोना भाइरस संक्रमण विस्तार फैलन थालेकोले सो संक्रमणबाट नेपाली नागरिकलाई जोगाउन सरकारले यस्तो निर्णय गरेको हो । आज नेपालको सीमाना जोडिएको बिहारमा एक कोरोना संक्रमितको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले समेत नेपाल र भारतलाई सीमा नाका बन्द गर्न सुझाव दिएको थियो । भारतमा आज कोरोना संक्रमणका तीन विरामीको मृत्यु भएको जनाइएको छ । यो सहित भारतमा मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ।

सो कोषमा सबै मन्त्रीले एक महिनाको तलब योगदान गर्ने निर्णय भएको छ । सो कोषमा इच्छुक सबैलाई सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले अत्यावश्यक सेवा नियमित सञ्चालन गर्ने निर्णय पनि गरेको छ। अत्यावश्यक सेवाको पुरानो सूचीले केही सन्देह उत्पन्न भएकोले त्यसलाई अद्यावधिक गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि भएको बुझिएको छ ।

Share Now

Leave a comment.