काठमाडौं, १२ चैत्र । कोरोभाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रु ल्याउन प्रतिबन्ध लगाएकोमा त्यसको पालना नगरी नेपाली यात्रुहरु ल्याउने तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय एअरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यवस्थापक देवेन्द्र केसीले नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा इन्डियन एअरलाइन्स, सिल्क एअर र इतिहाद एअरलाई स्पष्टीकरण सोधेका बताउनुभयो ।
यी वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त विषयमा छानबिन अघि बढाइएको पनि बताउनुभयो।
कोरोनाभाइरसको महामारी विश्वव्यापी सङ्कट भएको भन्दै अधिकारीहरूले त्यसले उड्डयन क्षेत्रलाई अस्तव्यस्त बनाएको र अन्य देशहरूले पनि उडान प्रतिबन्धको कार्यान्वयन गर्न चुनौती खेपेको उल्लेख गरेका छन्।
छानबिन
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुहुन्छ, ‘हामीले त्यस्ता अन्तर्राष्ट्रिय उडानमार्फत् ल्याइएका यात्रुहरूलाई क्वारन्टीनमा पठाएका छौँ र के कारणले त्यस्तो अवस्था आयो भनेर छानबिन गरिरहेका छौँ।’
मङ्गलबारबाट पूर्ण रूपमा आवतजावतमा रोक लगाउने निर्णय भएपछि सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएका छन्।
यसअघि आइतबारबाट लागू हुनेगरी एक सातासम्म यात्रु बोकेका कुनै पनि विमानलाई नेपालमा अवतरण गर्न नदिने र नेपालमा अवतरणको अनुमति लिएका विमानमार्फत् यात्रु भने लैजाने दिने नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो।
७२ जना क्वारन्टीनमा
कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी कहरको सङ्ज्ञा दिदैँ उनले अन्य देशका विमानस्थलहरूले पनि यस्ता खालका चुनौती खेपिरहेको उल्लेख गरे।
अधिकारीहरूले युरोप, पश्चिम एशिया र खाडी क्षेत्रसहित विभिन्न देशबाट हवाई यात्रु बोक्न प्रतिबन्ध लगाउने पहिलाको निर्णय र आवागमनका लागि सबै हवाई यात्रुमाथि प्रतिबन्ध लगाउने निर्णय पछिल्लो निर्णय गरिएयता ७२ जनालाई क्वारन्टीनमा पठाइएको जानकारी दिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले कुनै पनि विदेशीलाई प्रवेश नदिइएको र आफ्नै देशका नागरिक भएकाले नेपालीहरूलाई क्वारन्टाइनमा पठाइएको उल्लेख गर्नुभयो।

चीनको वुहानबाट उद्दार गरिएका नेपालीहरूलाई राखिएका खरिपाटीस्थित क्वारन्टीनमा उनीहरूलाई राखिएको जनाइएको छ।
यात्रा प्रतिबन्धको घोषणा गरेका मुलुकमा रहेका नेपालीहरूलाई सरकारले देश फर्कन प्रतिबन्ध लगाएपछि कैयौँले त्यसलाई राज्यले आफ्नो नागरिकको हकमा अपनाउनुपर्ने न्यूनतम कदमलाई पनि बेवास्ता गरेको रूपमा अर्थ्याएका थिए।
उनीहरूले राज्यले सङ्कटको अवधिमा आफ्ना नागरिकहरूलाई उद्धारमा केन्द्रित गर्नुपर्ने माग गरे पनि सरकारले बाहिर भएकाहरूलाई तत्कालै स्वदेश फर्काउनुपर्ने अवस्था नरहेको बताएको थियो।
अघिल्लो साता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त निर्णय कोरोनाभाइरस विरुद्धको लडाइँका लागि महत्त्वपूर्ण रणनीति भएको बताउनुभएको थियो।




















