Prakash Adhikari April 15, 2020

 

काठमाडौं, ३ बैशाख । कोरोनाभाइरसको सङ्क्रमण रोकथामका निम्ति विदेशबाट खरिद गरेर ल्याउने औषधी र स्वास्थ्य सामानहरूको सूची नेपाली सेनाले टुङ्गो लगाएको छ।

नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट सरकारी निकायमार्फत अर्थात जीटुजी विधिमार्फत् ती सामानहरू किनेर ल्याउने भएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ।

चीनबाट स्वास्थ्य उपकरण लगायतका सामान र भारतबाट औषधी ल्याउने निचोड निकालिएको छ।

चीनबाट ल्याइने सामानहरूमा स्वास्थ्यकर्मीका निम्ति सुरक्षा पोशाक, पीपीई, एन एन ९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन लगायत छन्।

सामान दिल्ली र ग्वान्जाओमा

नेपाली सेनाले विभिन्न पक्षसँगको परामर्शमा बनाएको सूची रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ।

अब त्यो परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित देशमा पठाइने बताइएको छ।

ती सामान भारतले दिल्लीस्थित नेपाली राजदूतावासमा र चीनले ग्वान्जाओमा नेपाललाई हस्तान्तरण गर्ने कुरा दुवै देशका अधिकारीहरूले जानकारी गराएका छन्।

सैनिक प्रवक्ता पाण्डेले भन्नुभयो, ‘त्यसको भुक्तानी कहाँ र कसरी गर्ने तथा सामान कसरी ल्याउने भन्नेबारे सरकारको निर्णय आवश्यक छ। त्यसकै निम्ति छलफल भइरहेको छ।’

‘जीटुजी’ गर्दा कुनै बिचौलिया वा मध्यस्थकर्ता नराख्ने नेपालको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ। त्यसैअनुसार उसले आफ्नो वाणिज्य विभागकै कर्मचारीलाई नेपालको निम्ति काम गर्ने जिम्मेवारी दिएको जानकारी नेपाली अधिकारीहरूलाई चीनले गराएको छ।

कोरोनाभाइरस
बाँकी कहाँबाट ?
नेपालले दुई छिमेकीका साथै दक्षिण कोरिया, सिङ्गापुर र इजरेलसँग ‘जीटुजी’ विधिअनुसार सामान किन्ने प्रस्ताव गरेको थियो।

नेपालले तयार पारेको सूचीका सबै सामान दुई देशबाट तत्काल आउने छैनन्। एक उच्च अधिकारीका अनुसार सुरुमा ३ सय ९६ वटा सामानको सूची तयार भएको थियो।

त्यो घट्दै जाँदा १सय २९ थरी सामान आउने निश्चित भएको हो। त्यसैले तत्काल आवश्यक पर्ने अन्य केही सामान ल्याउनका निम्ति अरू कुनै देशको मुख ताक्नु पर्ने अवस्था देखिएको छ।

अधिकारीहरूले ती सामानबारे खुलाएनन् तर त्यसबारे उच्चस्तरीय समिति वा मन्त्रिपरिषद्बाट निर्णय हुने ठानिएको छ।

पीपीइ
नेपालबाट ‘उच्च आग्रह’

नेपालले दुई छिमेकीसँग सामान खरिद गर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख १ गते चिनियाँ समकक्षीसँग फोनवार्ता गर्नुभएको थियो।

ुभारत सरकारले उपलब्ध गराउन लागेको औषधी लगायतका सहयोगका लागिु भारतीय प्रधानमन्त्रीलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले ट्वीट गर्दै जानकारी दिनुभएको थियो।

त्यसपछि परराष्ट्रमन्त्रीले चिनियाँ समकक्षीलाई ‘जीटुजी’ विधिका आधारमा गरिने स्वास्थ्य सामग्री र अत्यावश्यकीय औषधीहरूको खरिदमा सहजीकरण र सहयोग गरिदिनु आग्रह गनुभयो। चिनियाँ विदेशमन्त्रीले त्यसै अनुसारको वचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।

नेपाललाई चिनियाँ अधिकारीहरूले दिएको जानकारी अनुसार त्यहाँबाट स्वास्थ्य सामग्री माग गर्ने देशमा नेपाल ८१ औं नम्बरमा पर्छ।

तर छिमेकी देश भएकाले चीनले नेपालले माग गरेको जति सामान अरूलाई भन्दा पहिल्यै दिन सक्ने आश्वासन दिएको बताइएको छ।

यसअघि एउटा निजी कम्पनीलाई चीनबाट स्वास्थ्य समान ल्याउन दिइएको सम्झौता रद्द गरिएको थियो।

उक्त खरिद निकै विवादमा परेपछि सरकारले जीटुजी विधि अनुसार स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो।(बीबीसीबाट)

Share Now

Leave a comment.