काठमाडौं, ५ जेठ । सोमबार अपरान्ह थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर क्षेत्रमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
आजै मोरड.,गुल्मी,धनुषा,धादिड.,रौतहट र दाड.मा एकएक जनालाई कोरोना भाइरस संक्रमण देखिएको थियो । आज बिहान रौतहट र बारा जिल्लाका नौ जनालाई कोरोना संक्रमण भएको थियो ।
हिजो नरैनापुरका एक संक्रमितको क्वारेन्टाइनमा मृत्यु भएपछि बाँकेको नरैनापुर क्षेत्रका २ सय ७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा परीक्षण गर्न ल्याइएको थियो। जसमध्ये १ सय ९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको हो। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा समेत मन्त्रालयले यसको पुष्टी गरेको छ।
नरैनापुरको दीपेन्द्र प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो।
एकजना संक्रमितको क्वारेन्टाइनमा नै मृत्यु भएको र सो क्षेत्रमा थप ४७ जनामा संक्रमा देखिसकिएकोले सो क्षेत्रमा सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ।
यसअघि नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई शुक्रवार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो ।
सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण आइतबार बिहान निधन भएको थियो ।
भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ ।


















