काठमाडौं, ७ जेठ(बीबीसी) । बङ्गालको खाडीमा विकसित भएर जमिनतिर अघि बढिरहेको एउटा शक्तिशाली समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ।
अम्पुन नाम दिइएको उक्त चक्रवात अब केही घण्टामा भारत र बाङ्ग्लादेशको सीमामा बज्रिने अनुमान गरिएको छ।
उक्त चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट दुवै देशले लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन्।
नेपालमा पनि चक्रवातको अप्रत्यक्ष प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको मौसम विभागका अनुसार अम्पुनले दिउँसोदेखि साँझसम्म जमिनमा प्रहार गर्न सक्नेछ।
अस्थायी आश्रयस्थल
कोरोनाभाइरस महामारी फैलिएका बेला यो समुद्री आँधीका कारण भारत र बाङ्ग्लादेशमा अप्ठ्यारो स्थिति उत्पन्न भएको छ।
दुवै देशमा विद्यालय र अन्य भवनमा अस्थायी आश्रयस्थल बनाउन भनिएको छ। तर कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरूले एकआपसमा दूरी कायम गर्नुपर्ने भएकाले सामान्य अवस्थामा भन्दा बढी ठाउँ आवश्यक परेको छ।
समुद्री आँधीको नराम्रो प्रभाव पर्ने अनुमान गरिएको पश्चिम बङ्गालमा मानिसहरू कोभिड-१९ का डरले त्यस्ता आश्रयस्थलमा जान अनिच्छुक देखिएको प्रहरीले बताएको छ।

अस्थायी आश्रयस्थलमा सामाजिक दूरी कायम गर्ने चुनौती छ
भारतीय अधिकारीहरूका अनुसार २० वटा टोलीलाई राहतका लागि परिचालन गरिएको छ भने थप टोली तयारी अवस्थामा छन्।
अम्पुन एक दशकयताकै सर्वाधिक ठूलो चक्रवात भएको मौसमविद्हरूले बताएका छन्।
झन्डै १८५ किलोमिटर प्रतिघण्टाको वेगमा यसले समुद्रको तटीय क्षेत्रमा प्रहार गर्ने अनुमान गरिएको छ।
बाङ्ग्लादेशको डर
बाङ्ग्लादेशमा सन् २००७ मा एउटा चक्रवातका कारण ठूलो धनजनको क्षति भएको थियो। त्यति बेला झन्डै ३,५०० जनाको मृत्यु भएको थियो।
अम्पुनबाट पर्न सक्ने प्रभावका कारण बाङ्ग्लादेशी अधिकारीहरू चिन्तित देखिन्छन्।

समुद्रको सतह बढ्ने भएकाले तटीय क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ
जमिनमा बज्रिनुअघि यो चक्रवातको गति केही घट्ने अनुमान गरिएको छ।
तर भारतको मौसम विभागले समुद्रमा पानीको सतह तीनदेखि पाँच मिटरसम्म बढ्न सक्ने जनाएको छ।
बाङ्ग्लादेशी विपद् व्यवस्थापन मन्त्रीका अनुसार झन्डै २० लाख मानिसलाई स्थानान्तरण गर्ने सरकारको योजना छ।
त्यहाँ पनि अस्थायी आश्रयस्थल बनाइँदैछ।
सन् १९९९ मा बङ्गालको खाडीमा विकसित एउटा अतिशक्तिशाली चक्रवातका कारण ९,००० जनाभन्दा बढीको ज्यान गएको थियो।
त्यसपछि विकसित भएका समुद्री आँधीमध्ये अम्पुन सर्वाधिक शक्तिशाली भएको बताइन्छ।

समुद्रमा माछा मार्न नजान चेतावनी दिइएको छ
नेपालमा कस्तो प्रभाव
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको प्रभावसँगै अम्पुनको अप्रत्यक्ष प्रभाव रहेको छ।
अम्पुनका कारण अहिले प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही जिल्लामा आंशिकदेखि सामान्य बदली भएको उसले बताएको छ।
महाशाखाको मौसम पूर्वानुमानमा बुधवार दिउँसो नेपालका पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।
“पूर्वी भूभागका धेरै स्थानहरू, मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” पूर्वानुमानमा भनिएको छ।
“पूर्वी तथा मध्य उच्च हिमाली भूभागका केही स्थानहरूमा साथै पश्चिमी उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।”


















