Prakash Adhikari May 28, 2020

काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको लामो संघर्ष बलिदानले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था नेपाली जनताको समृद्धि र समतामूलक समाज निर्माणमा प्रेरणादायक भएको बताउनुभएको छ ।

१३ औं गणतन्त्र दिवसको अवसरमा बिहिबार दिनुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तात्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कुशल नेतृत्वमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य स्मरण गराउदै उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।;

उहाँले गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको स्मरण गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग भएको र संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय लिने नेपाली कांग्रेसको धारणाबारे अलमलमा नपर्न पनि आग्रह गनुभएको छ ।

Share Now

Leave a comment.