फ्र्याङ्क गार्डनर/ बीबीसी न्यूज
दुबाई(युएई),३१ जेठ । अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ।
अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ।
करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात महिना लाग्नेछ।
उक्त अन्तरिक्ष यानले त्यहाँको मौसम र वायुमण्डलबारे नयाँ तथ्य पठाउने योजना रहेको छ।
उक्त यानले यथेष्ट तथ्याङ्क सङ्कलन गर्न मङ्गलको एक वर्ष अर्थात् ६ सय ८७ दिन नै मङ्गल ग्रहलाई परिक्रमा गर्नेछ।
मङ्गल ग्रहलाई एकपटक घुम्न उक्त यानलाई ५५ घण्टा लाग्नेछ।
उक्त आयोजनाकी निर्देशक सारा अलअमिरिले यो अन्तरिक्ष आयोजना अरबका युवा वैज्ञानिकहरूका लागि अन्तरिक्ष इन्जिनियरिङमा लाग्न एउटा ठूलो प्रोत्साहन हुने बताउनुभएको छ।
यानको नाम अमल राखिएको छ जसको अर्थ आशा हुन्छ। यो रोबोटजडित यान जापानको एउटा टापु तानेगाशिमाबाट जुलाई १४ का दिन अन्तरिक्षतर्फ लाग्नेछ।
उक्त यानमा मङ्गलको वायुमण्डलको जटिल बनोट नापजाँच गर्नका लागि तीन प्रकारका उपकरण जडान गरिएका छन्। त्यसमा हाइ रिजोलुशन मल्टिब्यान्ड क्यामेरा पनि छ जसले यो ग्रहको धुलो र ओजोन तह नाप्नेछ।
दोस्रो इन्फ्रारेड स्पेक्ट्रोमीटर हो जसले वायुमण्डलको माथिल्लो र तल्लो तह नाप्नेछ। यो उपकरण अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयले विकास गरेको हो । यो आयोजनामा तीनवटा अमेरिकी विश्वविद्यालहरू सहभागी छन्।
तेस्रो सेन्सर अल्ट्राभायोलेट स्पेक्ट्रोमीटर हुनेछ जसले अक्सीजन र हाइड्रोजन तह नाप्नेछ।

अलअमिरिले अनुसन्धानको एउटा लक्ष्य पानी बन्नका लागि अत्यावश्यक हाइड्रोजन र अक्सिजन तत्व कसरी यो ग्रहबाट उडिरहेका छन् भन्ने पत्ता लगाउने रहेको बताउनुभयो।
यूकेको साइन्स ग्रुपका निर्देशक सर इयान ब्ल्याचफोर्डले भन्नुभयो, ‘यस अघिका धेरै लक्ष्यहरूले भूबनोटमा केन्द्रित थिए तर यसले मङ्गलको वातावरणको विस्तृत र विहङ्गम दृष्य दिनेछ।’
यूएई यसअघि पनि अन्तरिक्षको यात्रामा सहभागी भएको थियो। यसले पृथ्वीको कक्षमा रकेटहरू पठाएको छ भने एकजनालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो।
अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद हुनुहुन्छ । उहाँ सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडनुभएको थियो ।
तर अहिलेको लक्ष्य त्यो भन्दा बृहत् कुरा हो।
अहिलेको अन्तरिक्ष यान यूएईमा बनेको हो र जापानको टापुमा पुर्याइसकिएको छ।
अन्तरिक्ष यान जापान पुर्याएपछि त्यो कार्यमा संलग्न सबै इन्जिनियरहरूलाई कोरोनाभाइरस महामारीका कारण क्वारेन्टाइनमा पठाइएको थियो जसले गर्दा अन्तरिक्ष यान उडाउन प्रक्षेपित समय ढिला हुने हो की भन्ने अन्योल उत्पन्न भएको थियो।
ब्रिटेन ओपन युनिभर्सिटीमा ग्रह र अन्तरिक्षसम्बन्धी प्राध्यापक मोनिका ग्रेडीले यस अघिसम्म विश्वका शक्ति राष्ट्रहरूको दबदबा रहेको यो क्षेत्रमा यूएईको मङ्गल लक्ष्यले ठूलै परिवर्तन ल्याउनसक्ने बताउनुभयो।

अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडनुभएको थियो
‘यो मङ्गल ग्रहको अध्ययनमा महत्त्वपूर्ण पाइला हो। यदि अरबको यो प्रयत्न सफल भयो भने युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरिक्ष निकाय नासा बाहेक अरूहरू पनि मङ्गलमा पुग्न सक्छन् भन्ने प्रमाणित हुनेछ’,प्राध्यापक मोनिका ग्रेडीले भन्नुभयो, ‘तर कैयौँ मङ्गलमा जाने लक्ष्यहरू असफल भएका छन्।’
मङ्गलमा उक्त यान पुग्यो भने त्यो यूएईले स्वतन्त्रता प्राप्त गरेको पचासौँ वर्षोत्सवमा हुनेछ जसले ठूलो आशा जगाउने ठानिएको छ।
यो मुलुकले सन् २११७ सम्ममा मङ्गल ग्रहमा मानवबस्ती बसाउने प्रतिबद्धता व्यक्त गरेको छ।


















