Prakash Adhikari June 13, 2020

हेलेन ब्रिग्स/ बीबीसी वातावरण सम्वाददाता

लण्डन(संयुक्त अधिराज्य), ३१ जेठ(बीबीसी) । हाब्रे किन लोपोन्मुख छ भन्ने तथ्याङ्क सङ्कलन गर्न नेपालको हिमालमा यसलाई भूउपग्रहमार्फत् निगरानी गर्न सुरु गरिएको छ।

पूर्वी हिमालय र दक्षिणपश्चिम चीनमा केही हजारको सङ्ख्यामा रहेको यो स्तनधारी जनावर लोप हुन सक्ने खतरा छ।

कञ्चनजङ्गा हिमाल नजिकैको जङ्गलमा रहेका १० हाब्रेको गतिविधि निगरानी गर्न तिनको घाँटीमा जीपीएस उपकरण बाँधिएको छ।

संरक्षणविद्हरूले ती उपकरणले राम्ररी काम गरिरहेको र उत्साहजनक तथ्याङ्क दिइरहेको बताएका छन्।

रेड पान्डा सञ्जाल, नेपाल सरकार, वैज्ञानिक र पशुचिकित्सकहरू संलग्न टोलीले छ पोथी र चार भाले हाब्रेको निगरानी र जङ्गलमा राखिएका क्यामराबाट तस्बिर खिच्ने काम गरिरहेको छ।

‘यो हाब्रे संरक्षणमा ठूलो कोशेढुङ्गा हो ‘ , नेपालको वन तथा भूसंरक्षण विभागमा महानिर्देशक मनबहादुर खड्काले भन्नुभयो।

ती १० हाब्रेलाई स्थानीय बासिन्दाले पारु, डोल्मा, चिन्तापु, मेच्छा, भूमो, सेनेहाङ्, निमा, ब्रायन, निनाम्मा र प्रल्हाददेवी नाम राखेका छन्।

पारु नामको हाब्रेको घाँटीमा जीपीएस उपकरण बाँधिएको छ
पारु नामको हाब्रेको घाँटीमा जीपीएस उपकरण बाँधिएको छ

कुनैबेला हाब्रे भालु प्रजातिसँग नजिक रहेको मानिन्थ्यो तर अहिले यसलाई छुट्टै प्रजातिको जनावरको रूपमा लिइन्छ।

लोपोन्मुख प्रजातिमध्ये यो विकासक्रमका हिसाबले सबैभन्दा फरक र विश्वबाट लोप हुन लागेको स्तनधारी हो।

पारु
यसको बसोबास रहने वनको विनाश र खानाको रूपमा रहेको बाँसको कमीलाई हाब्रे लोप हुनु पछाडिको कारण मानिन्छ।

नेपालका संरक्षणविद्हरूले हाब्रेबाट वर्षभरि सङ्कलित तथ्याङ्कले यसको संरक्षणका लागि महत्त्वपूर्ण जानकारी दिने अपेक्षा गरेका छन्।

Share Now

Leave a comment.