बेन फिलिप / द नाइन
लुक्ला(सोलुखुम्बु), ३ जेठ । विश्व भ्रमण गर्ने योजनामा रहेको स्कटल्यान्डको एउटा परिवारले नेपालको लकडाउनमा तीन महिना लुक्लामा बिताएको छ।
क्रिस र जुली स्मिथ आफ्ना बच्चाहरू नौ वर्षीया इरिन र चार वर्षीय ज्याकोबलाई लिएर गत वर्ष जूनमा विश्व भ्रमण गर्ने योजनामा स्कटल्यान्डको एबरडीन सहरबाट हिँडेका थिए।
तर मार्चमा कोरोनाभाइरसको कारण लकडाउन हुन थाल्यो। र स्मिथ परिवार नेपालको लुक्लाका अड्किए।
नेपाल आउनु अगाडि उनीहरू भारत, जोर्डन, अल्बानिया, सर्बिया र हङ्गेरी पुगेका थिए।
अहिले स्मिथ परिवार लु्क्का विमानस्थलसँगै रहेको होटलमा बसिरहेका छन्।
‘हामीले बच्चाहरूसँगै विश्व भ्रमण गर्ने योजनामा १२ महिना अगाडि स्कटल्यान्ड छोडेका थियौँ ‘,ू४१ वर्षीय क्रिस स्मिथले बीबीसी स्कटल्यान्डको द नाइनसँग भन्नुभयो।

‘यो हाम्रो उन्नाइसौँ देश हो र हामी यहाँ तीन महिना अगाडि आइपुगेका थियौँ। हामी अहिले अब के हुन्छ भनेर कुरिरहेका छौँ।’
स्मिथले लुक्लामा भएको सुविधालाई आधारभूत भएको बताउँदै त्यसमा जिउन अलिकति सङ्घर्ष भएको बताउनुभयो।
‘हामीसँग राति तातो बनाउनको लागि एउटा मात्रै हिटर छ’, उहाँले भन्नभयो।
‘सुरक्षित स्थानमा छौँ’
‘तर हामी सुरक्षित स्थानमा छौँ र बच्चाहरूका लागि खेल्न धेरै ठाउँ छ। त्यसैले हामी खुशी नै छौँ तर सकेसम्म छिटो यात्रालाई निरन्तरता दिन चाहन्छौँ।’
ज्याकोबले आफ्नो चौथो जन्मदिन विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा आफ्नै दिदी र बाबुआमासँग मनाउने संयोग जुर्यो।

‘हामीले सात दिनको पदयात्रा गरेका थियौँ र त्यसपछि लकडाउन आयो’,४६ वर्षीय जुली स्मिथले भन्नुभयो।
‘हामी सुन्दर स्थानमा छौँ र हामी भाग्यशाली महसुस गरिरहेका छौँ। हाम्रो टाउकोमाथि छाना छ र दिनमा तीन पटक खाना छ त्यसैले हामी भाग्यशाली छौँ। बच्चाहरू खुशी छन् जसले हामीलाई पनि खुशी बनाएको छ।’
जुलीका अनुसार उनीहरू होटलकै चौरमा दिन बिताउँछन् किनभने त्यहाँबाट बाहिर जान लकडाउन छ।
नेपाल बस्ने निर्णय
‘जब हामीले लकडाउनका बारेमा सुन्यौँ हामीले नेपालमै बस्ने निर्णय गर्यौँ ‘, जुलीले बताउनुभयो, ‘त्यो बेला स्कटल्यान्डमा सङ्क्रमण बढिरहेको थियो र हामीलाई बच्चाहरूलाई विमानमा चढाउन मन लागेन।’

‘लकडाउन अन्त्य भएपछि हामी यात्रा गर्न चाहन्छौँ तर हामीले कहाँ जाने भन्ने कुराको निर्णय गर्नु छ। हामी स्कटल्यान्ड पनि आउन सक्छौँ तर हामी जहाँ गए पनि बच्चाहरू सुरक्षित हुन भन्ने निश्चित गर्न चाहन्छौँ।’
स्मिथ परिवारले श्रीलङ्का र भियतनाम यात्राको योजना बनाइरहेका छन् र सम्भव भएमा सगरमाथा आधार शिविरसम्म जाने इच्छा गरेका छन्।


















