Prakash Adhikari June 13, 2020

काठमाडौं, ३१ जेठ (बीबीसी )। नेपालमा कोरोना भाइरसकबाट संक्रमित हुनेको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

शनिवार थप २ सय ७३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या थप उकालो लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक पाँच वर्षीय बालकसहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ।

योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभएको छ।

प्रवक्ता डा. गौतमले असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १० हजार पुर्‍याइने पनि बताउनुभयो।

कोरोना

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको बीबीसी सम्वाददाता माधुरी महतोले जनाउनुभएको छ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभएको छ।

लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको तर निको नभएपछि शुक्रवार बिहान वीरगन्ज लगिएको थियो।

हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण
गत १० दिनको सङ्क्रमण पुष्टि हुने क्रम

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रजिअ पण्डितका अनुसार मृतक बालकको शव कार्यविधि अनुसार नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले अन्तिम संस्कार गरिएको छ।

यो सहित बारामा कोरोनाभारइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।

त्यस्तै वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालका डा।उदय नारायण सिँहले बताउनुभएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन।

नरैनापुरका सबै निको


कोरोनाभाइरस सङ्क्रमणको केन्द्र बनेको बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका सङ्क्रमित १ सय १८ जनामध्ये १ सय १७ जना निको भई घर फर्किएको बीबीसी सम्वाददाता विमला चौधरीले बताउनुभएको छ।

एक जनाको भने क्वारेन्टाइनमा मृत्यु भएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले १ सय १७ जनाकै परीक्षण नेगेटिभ आएपछि उनीहरु घर फर्किएको बताउनुभयो।

रोजगारीका लागि भारत पुगेका धेरै नेपालीहरू लकडाउनको बीचमा घर फर्किएपछि नरैनापुरमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

क्वारेन्टाइनमा रहेका १ सय १७ जना र एक प्रहरीमा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेर त्यहाँ सेना परिचालन गरिएको थियो।

सेना परिचालनपछि त्यहाँको अवस्था फेरिएको कुरुङवाङले बताउनुभयो।

पछिल्लो समय भारतबाट आउने मानिसको सङ्ख्यामा कमी आएको र नरैनापुरमा नयाँ सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

हाल नरैनापुरको क्वारेन्टाइनमा एक सयको हाराहारीमा मानिसहरू रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो।

Share Now

Leave a comment.