Prakash Adhikari June 13, 2020

 

प्रकाश अधिकारी
काठमाडौं, ३१ जेठ । नेपाल र इष्ट इण्डिया कम्पनीका बीच सम्पन्न सुगौली सन्धीमा स्पष्ट किटान भएर पनि रणनीतिक कमजोरीका कारण नेपालले आफ्नो नक्सामा समावेश गरी भोग गर्न नपाएको महाकाली नदीको शीर लिम्पियाधुरासहित त्यसभन्दा पूर्वका कालापानी,लिपुलेक र सो क्षेत्रले समेटेको कुटी, नाभी र गुञ्जीसहितका मानव वस्तीलाई नेपालको सीमाभित्र ल्याउन प्रतिनिधि सभाले शनिवार महत्वपूर्ण निर्णय दिएको छ ।

यी भूभागहरुलाई नेपालको अधिनमा ल्याउनका लागि संविधानको अनुसूची ३ मा रहेको निशाना छाप अद्यावधिक गर्ने सम्बन्धमा प्रतिनिधिसभामा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई आज प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभामा मतदान भएपछि मत परिणाम घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा उपस्थित सदस्य संख्याको शतप्रतिशत मत संशोधनमा खसेको बताउनु भयो ।

शनिवारको यस महत्वपूर्ण बैठकमा प्रतिनिधि सभामा २ सय ५८ जना सांसदहरुको उपस्थिति रहेको थियो । संविधान संशोधन प्रस्ताव मतदानको लागि प्रस्तुत गरिदा यसको पक्षमा २ सय ५८ मत नै परको थियो भने विपक्ष र तटस्थमा कुनै मत परेको थिएन ।

सभामुख सापकोटाले मत परिणाम घोषणा गर्दै संविधान संशोधनको पक्षमा परेको मत नेपालको संविधानले व्यवस्था गरेको प्रतिनिधिसभाको कूल सदस्य संख्या २ सय ७५ को दुई तिहाई बढी भएकोले संविधान संशोधन विधेयक पारित भएको तथा यो संविधानको अंग बन्न गएको निर्णय सुनाउनु भएको थियो ।

यस पहिले सभामुख सापकोटाले संविधान संशोधन विधेयकको प्रस्तावना र दफाहरुलाई अलग अलग अनुमोदनको लागि सदन समक्ष प्रस्तुत गर्नुभएको थियो ।

यस अगाडि कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले विधेयकको दफाबार छलफल समाप्त भएपछि यो विधेयकलाई निर्णार्थ संसदमा प्रस्तुत गर्दा ध्वनी मतले सर्वसम्मतिले पारित भएको थियो ।

छलफलमा देखियो अपूर्व एकता

आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलमा संसदमा उपस्थित राजनीतिक दलको अपूर्व एकता प्रदर्शन भएको थियो ।

संशोधन विधेयकको पक्षमा बोल्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सुगौली सन्धीमा नै काली नदी पूर्वका भाग नेपालको हुन्छ भन्ने उल्लेख भएको काली नदीको उद्गमस्थल लिम्पियाधुरा भएकोले त्यसपूर्वका कालापानी,लिपुलेक,कुटी,गुञ्जी र नाभी सबै नेपालको भूमि भएको बताउनुभयो ।

उहाँले नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न र सार्वभौमसत्ताको रक्षाको लागि नेपाली कांग्रेस स्थापनाकाल देखिनै संकल्पित रहेकोले लिम्पियाधुरासम्मको नयाँ नक्सा छाप्ने र सो नक्सा अनुरुप संविधानको अनुसूचिमा रहेको निशाना छाप अद्यावधिक गर्ने कार्यमा सरकारको कदमलाई पार्टीको केन्द्रीय समिति र संसदीय दलबाट सहर्ष समर्थन गर्ने निर्णय गराउन सफल भएको बताउनु भयो ।

बैठकमा प्रस्तावको पक्षमा बोल्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सुगौली सन्धीले स्पष्ट किटान गरेर पनि विभिन्न कारणले नेपालले केही दशकदेखि भोग चलन गर्न नपाएको अवस्थामा सो भूमि समेटर नक्सा पारित गर्ने र सो नक्सालाई संविधानको अनुसूचीमा समेट्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताउदै सो भूमि भोग चलनका लागि छिमेकी मित्रराष्ट्र भारतसंग राजनीतिक र कुटनीतिक संवाद निरन्तर जारी राख्न आग्रह गर्नुभयो । उहाँले गुमेको भूमि फिर्ता हुने पहल हुनु पनि गणतन्त्रको उपलब्धि भएको बताउनुभयो ।

निशाना छाप अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न दर्ता भएको विधेयकको दफावार छलफलमा भाग लिंदै राष्ट्रिय जनता पार्टी(राजपा)का सांसद राजेन्द्र महतोले राष्ट्रियता, देशभक्तिका सन्दर्भमा मधेशका जनतामा शंका नगर्न अनुरोध गर्दै सविधानमा असहमतिका बाबजूद पार्टीले नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले ५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै प्रश्न गर्नुभयो, ‘कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?

उहाँले महाकाली सन्धि गर्दा पनि यसको मुहानको विषयमा चर्चा भएको तर त्यसको छिनोफानो नगरी संसदबाट हतारमा पारित गरिएको बताउदै दोषीहरुको पहिचान गरेर श्वेत पत्र जारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी दिंदै भन्नुभयो, ‘कति चोटी अग्नि परीक्षा दिने ? कति पटक प्रमाण दिने हामीले ? ‘मधेसी जनतामाथि अन्याय नगर्नुस् ।’

राजपा नेता महतोले नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारसंग आग्रह गरेका गर्नुभयो।

दफावार छलफलमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात भएको बताउनुभयो।

उहाँले नालापानी,कुमाउ,गढवाल लगायतका पश्चिमका किल्लाहरुमा भएको युद्धमा  नेपाल पराजित भएको अवस्था गरिएको अपमानजनक सन्धीको प्रावधानलाई पनि नेपाली शासकहरुले पालना गरेर देश र जनताको कल्या(ा गर्न नसकेको आरोप लगाउनु भयो । सन्धीमा काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने पूर्वको भागको भोगचलन गर्नुपर्नेमा शासकको कमजोरीले दशर्कौसम्म नेपाल भोगचलनबाट बञ्चित रहेको बताउनुभयो ।

उहाँले सुगौली सन्धी र त्यसपछि भएका कतिपय सन्धीमा नेपालको तराईमा आएका भूभागमा बस्ने जनतामाथि भेदभाव नगर्ने उल्लेख भएपनि त्यसको पालना नेपालका शासकहरुले गर्न नसकेको बताउनुभयो ।

सांसद यादवले कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले सन् १९६५ मा पनि सन्धि भएको कुराहरु बाहिर आएकाले सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

दफावार छलफलमा नेपाली कांग्रेसका महामन्त्री सांसद शशांक कोइराला,सांसद प्रकाशमान सिंह,सांसद डा. मिनेन्द्र रिजाल, सांसद डिलेन्द्रप्रसाद बडु,सांसद अमरेशकुमार सिंहले नेपालको राष्ट्रियता,सार्वभौमिकता,भौगोलिक अखण्डताका पक्षमा नेपाली कांग्रेस स्थापनाकालदेखि दृढतापूर्वक उभिर्दै आएको बताउनुभयो ।

नेकपाका तर्फबाट महासचिव तथा सांसद विष्णु पौडेल, सांसद डा. भीम रावल, सांसद लालबाबु पण्डित,सांसद गणेश ठगुन्ना, सांसद देवेन्द्र पौडेल, सांसद रामबहादुर विष्ट लगायतले  बोल्नुभएको थियो ।

दफाबार छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिड.देनले पनि नेपालको भूमीलाई नक्सामा समेट्ने र सो नक्सा संविधानको अनुसूचीमा रहेको निशाना छापमा अद्यावधिक गर्ने कार्य सराहनीय रहेको तर नक्सामात्र छापेर नपुग्ने जमीन भोगचलनका लागि भारतसंग कुटनीतिक र राजनीतिक संवाद जारी राख्नुपर्ने बताउनुभयो ।

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

यस पूर्व आजको बैठकको प्रारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकको संशोधनमा समाजवादी पार्टीका सांसद सरिता गिरीद्धारा दर्ता भएको प्रस्ताव अस्वीकृत गर्नुभएको थियो ।

यो उहाँले आफूमा निहित विशेष अधिकार प्रयोग गरी अस्वीकृत गर्नुभएको हो । सांसद गिरीले संविधान संशोधनका लागि सरकारले दर्ता गरेको विधेयक खारेजीको प्रस्ताव दर्ता गर्नुभएको थियो । सो प्रस्ताव फिर्ता लिन उहाँलाई उहाँको पार्टीले निर्देशन दिएको थियो । तर उहाँले सोको पालना गर्नुभएको थिएन । आज बिहान बसेको संसदीय दलको बैठकले पनि उहाँलाई सो विधेयक फिर्ता लिन अनुरोध गर्दै संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

अड्डी लिएर बस्नुभएकी सांसद गिरी आफ्नो प्रस्तावलाई छलफल र मतदानमा लैजानबाट रोक्दै सभामुखले भिटो प्रयोग गरी अस्वीकृत गरेपछि संसद बैठकबाट बाहिरिनुभएको थियो ।

Share Now

Leave a comment.