काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाले सर्वसम्मतिबाट विगत केही दशकदेखि नेपालको नाप नक्सा र हकभोगबाट छुटेका पश्चिमोत्तर क्षेत्रका लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू—भाग समाविष्ट भएको नक्सा संविधानको अनुसूचीमा समेट्न गरेको संविधान संशोधनको प्रस्ताव पारित गरेकोमा प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई ‘राष्ट्रियताको पक्षमा ऐतिहासिक एकता’ भन्दै स्वागत गरेको छ ।
नेपाली कांग्रेसले संविधानको अभिन्न अंगको रुपमा रहने अनुसूचीमा नेपालले विगत केही दशकदेखि हकभोग गर्न नपाएको आफ्नो भूमि समाविष्ट गर्ने कार्य अब पूर्णतातिर जान लागेको उल्लेख गर्दै अब कुटनीतिक पहल गरी ती भूभाग नेपालको प्रशासनिक र राजनीतिक दायरामा ल्याउन पहल गर्न पनि आग्रह गरेको छ ।
प्रतिनिधि सभाले बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुको मतद्धारा संविधान संशोधन विधेयक पारित गरे लगत्तै नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै सो प्रस्ताव प्रतिनिधिसभाबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वको रहेको बताउदै स्वदेश र बिदेशमा रहेका सबै नेपालीहरुलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ,’ नक्सा पारित हुनुसंगै भूमि फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको छ । राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ । नेपाली कांग्रेस उच्च स्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न सरकारलाई आग्रह गर्दछ ।’
नेपाली कांग्रेसले राष्ट्रियताको प्रश्नमा आफ्नो पार्टी संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पस्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने पनि प्रष्ट पारेको छ ।



















