काठमाडौं, १३ आषाढ । अफ्रिकाबाट इरान,अफगानिस्तान,पाकिस्तान हुँदै गत जेठमा भारत आइपुगेको सलह नेपाल प्रवेश गरेको छ ।
शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ ।
बालि सखाप पार्ने यस प्रजातिको फट्याड.ग्रालाई अनिकालको अनिष्ट निम्त्याउने किराका रुपमा लिइन्छ । सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसले गहुँ, तोरी, कपास, मकै लगायत खाद्यन्न बालीमा क्षति पुर्याउँछ। हूलका हूल आउने यस किराले बालीनालीका बोट नै सखाप पार्ने गर्दछ ।
सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरका कार्यक्रम प्रमुख बीपी यादवका अनुसार बिहान सलहको विशाल झुन्ड फेला परेको छ । सो स्थानमा शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन ।
उहाँले किराले बदाम र धानका बोटहरु खाँदै गरेको बताउदै यसबारे प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराएको बताउनुभयो । उहाँले विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाएको बताउनुभयो ।
बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिनुभएको छ ।
बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादव पानी परिरहेको बेला सलह किरा नेपाल भित्रिएको पुष्टि भएको बताउनुभएको छ ।
उहाँले नियन्त्रणको लागि टोली तत्काल परिचालन गरिएको बताउदै पानी परेको बेला रुखमा बसेका किराहरुले पानी रोकिएपछि तरकारी बालीमा हमला गरेको बताउनुभयो ।
उहाँले किराहरु ठूलो संख्यामा निजगढमा आएको खबर पाएकोले प्राविधिकहरुको टोली अहिले त्यता गइरहेको पनि बताउनुभयो ।
हावाको दिशा पछ्याएर १ सय ३० किमीसम्म समूह बनाएर उड्ने सलहको एक वर्गकिमीको समूहमा ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्। यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाद्यान्न नष्ट गर्नसक्ने वैज्ञानिकहरुले बताएका छन्।
यसले पुर्याउन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज (शनिबार) आकस्मिक बैठकसमेत बोलाएको छ।


















