Prakash Adhikari June 28, 2020

जावलाखेल ( ललितपुर), १४ आषाढ । अर्थतन्त्रको मापक (ब्यारोमिटर) मानिने सेयर बजार खोल्नका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले सेयर किनबेचको लागि दोस्रो बजार सञ्चालन गर्ने नेपाल धितोपत्र बिनियम लि.लाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले जनाए अनुसार आइतबार बसेको बोर्डको बैठकले भोलि असार १५ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजार नियमित रुपमा सञ्चालन गर्न नेपाल धितोपत्र विनिमय लि.लाई निर्देशन दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देश र नागरिकलाई जोगाउन सरकारले २०७६ चैत्र ११ देखि लकडाउन घोषणा गरेसंगै नेपालमा धितोपत्रको दोस्रो बजारको कारोबार रोकिदै आएको छ ।

बैशाख २६ गते सरकारले लकडाउन केही खुकुलो पार्ने निर्णय गरेसंगै पूँजीबजारका सहभागीहरुको परामर्शमा नियमन निकाय नेपाल धितोपत्र बोर्डले बैशाख ३० गतेदेखि कारोबार अवधि २ घण्टा कायम गरी सर्किट ब्रेकरको नयाँ व्यवस्थासहित केही अन्तरिम उपाय निकालेर धितोपत्रको कारोबारलाई नियमित राख्ने प्रयास गरेको थियो ।

तर बजार खुलेको पहिलो दिन एक घण्टा २३ मिनेटमा बजार नकारात्मक सर्किट ब्रेक गरि बन्द भएको र दोस्रो दिन ४० मिनेटमा नै नकारात्मक सर्किट ब्रेक लागेकोले लगानीकर्ताहरु तर्सेर नियमन निकाय र बजार सञ्चालकसमक्ष अनुरोध गरी केही सुधार गरेरमात्र बजार खोल्न दबाब दिएको कारण बजार बन्द हुन पुगेको थियो ।

यसबीचमा नियमन निकायले लगानीकर्ताहरुले लामो समयदेखि उठाउदै आएको पूँजीगत लाभकरको विषय आन्तरिक राजश्व विभागले सम्बोधन गरेको, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको १० लाखको सीमा हटाएको र सेयर धितोमा दिइने कर्जाको सुविधा बढाउने आश्वासन पाएकोले लगानीकर्ता तथा नियमन निकाय र बजार सञ्चालकहरु धितोपत्रको किनबेच हुने दोस्रो बजार सञ्चालन गर्न राजी भएको बताइन्छ ।

गत शुक्रबार पाँचवटै लगानीकर्ता संघहरुले निमयन निकाय धितोपत्र बोर्डका सामु बजार धितोपत्रको बजार नियमित खुला रहनु लगानीकर्ताको हितमा रहने उल्लेख गर्दै कुनै पनि बाहानामा कहिल्यै बजार बन्द नगर्ने तमसुक गरेका थिए ।

चौथो त्रैमास सुरुभएको र कम्पनीहरुको यस आर्थिक बर्षको नाफा नोक्सानको अवस्था अनुमान गर्न सकिने भएकोले बजार घटेपनि बढेपनि दीगो रुपमा कारोबार हुने आँकलन गरिएको छ ।

Share Now

Leave a comment.