काठमाडौं, १४ आषाढ । नेपालमा विगत २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको छ।
कहाँ कति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ६३ जना संक्रमित थपिएका छन् ।
यस्तै, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४ र झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
उता, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा एकएक जनामा संक्रमण पुष्टि भएको छ।
अन्य अवस्था के छ ?
तीमध्ये हालसम्म ३ हजार १३ जना निको भएका छन् भने आइतवारसम्म २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा १७९ जना निको भएका छन्।
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।
गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

अहिलेसम्म नेपालका सबै जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ४ हजार ९ सय ६२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख १५ हजार ८ सय ३८ पुगेको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ६१ हजार ७ सय ३१ जनाभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।


















