फणीन्द्र दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, ७ भाद्र । कोभिड १९ विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा पश्चिम नेपालमा रहेको एउटा होङ्सी शिवम सिमेन्ट कारखानामा कार्यरत चिनियाँहरूमा सो खोपको परीक्षण गराउने प्रस्ताव गरिएको बीबीसीले थाहा पाएको छ।
अघिल्लो साता स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्बीच कुराकानी भइरहेको बुझिन्छ।
एक जना विज्ञले हालसम्म उपचार फेला नपरिसकेको कोभिड-१९ को खोप, उपचार र परीक्षण तीनवटै क्षेत्रमा भइरहेका अनुसन्धानमा नेपालले साझेदारी गर्नुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गरेर गराइने त्यस्ता परीक्षणमा नेपाली नागरिकहरूलाई पनि सहभागी गराइनुपर्ने धारणा राखेका छन्।
चिनियाँ खोपको नेपालमा परीक्षण

स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बीबीसीलाई बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।
हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले अफ्रिकामा देखिएको इबोला भाइरसको नियन्त्रणमा प्रभावकारी मानिएको र २००३ मा दक्षिण पूर्वी मुलुकहरुमा देखा परेको सार्स(severe acute respiratory syndrome coronavirus ,SARS-CoV) तथा २०१२ मा मध्यपूर्वमा देखिएको कोरोना भाइरस परिवारकै मर्स(Middle East respiratory syndrome coronavirus , MERS-CoV) को उपचारमा प्रभावकारी देखिएको रेम्डेसिभिर नामक औषधी जसलाई कोभिड १९ का गम्भीर बिरामीको उपचारमा पनि हाल प्रयोग गरिएको छ, त्यसको परीक्षण भने सुरु गर्न लागिएको जनाएका छन्।
नेपालकै सबैभन्दा ठूलो भनिएको उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी छ।
झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २ सय जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताउनुभयो।
“हामीले तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश गरेका हौँ। नेपाल र चीन दुवैको सरकारी पक्षले अनुमति दियो भने मात्रै त्यस्तो हुनसक्छ। अहिलेसम्म त्यो विन्दुबाट हामी टाढै छौँ।”
सुरुमा चिनियाँ कामदारमा परीक्षण गरिएपनि पछि अरू नेपालीहरूसम्म पनि उक्त परीक्षण विस्तार गर्न सकिने मोरले बताउनुभयो।
बीबीसीका बुटवल संवाददाता माधव नेपालका अनुसार उक्त सिमेन्ट कारखानाले त्यहाँ कार्यरत नेपालीहरूलाई पनि कोभिड(१९ को खोपको परीक्षणमा इच्छा रहे या नरहेको सहितको बेहोराको फाराम भर्न लगाएको थियो।

त्यसमा अधिकांश नेपाली कामदारहरूले खोपको परीक्षणमा सहभागी हुन इच्छा नदेखाएको बताइन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भन्नुभयो, “कोभिड१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको छ। यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर मैले भनेको छु।”
उहाँले थप्नुभयो, “उक्त खोपको परीक्षण नेपालमा काम गरिरहेकालाई चिनियाँहरूलाई मात्रै नभइ अरूलाई पनि गर्न सकिन्छ भन्ने इच्छा हामीले राखिरहेका छौँ।”
उक्त विषयबारे बीबीसीले सोधेको प्रश्नमा परराष्ट्र मन्त्रालय वा बेइजिङ्गस्थित नेपाली दूतावासले जवाफ दिएका छैनन्।
कोभिड-१९ विरूद्ध खोपको परीक्षण
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार अहिले १ सय ३५ वटा भन्दा बढी कोभिड(१९ का खोपहरू ‘िप्र क्लिनिक्ल’ परीक्षणमा छन्। उक्त चरणमा मुसा वा बाँदर जस्ता जनावरमा खोपले कस्तो प्रतिरोधी क्षमता देखाउँछ भनेर अध्ययन गरिन्छ।
त्यसपछि मात्रै सुरक्षित रूपमा र थोरै सङ्ख्याका मानिसहरूमा सुरक्षा र खोपको मात्रा जाँच गर्ने उद्देश्य सहित पहिलो चरणको अध्ययन अघि बढाइन्छ। खोपले प्रतिरोधी प्रणालीमा पारेको प्रभाव पनि अध्ययन गर्ने गरी २० वटा खोपको पहिलो चरणको परीक्षण भइरहेको छ।
सैयौँको सङ्ख्यामा मानिसहरू सहभागी हुने दोस्रो चरणको परीक्षणमा १३ वटा खोप सामेल छन्। त्यसमा मानिसहरूलाई उमेर समूह अनुसार छुट्याएर खोपले उनीहरूमा फरक फरक परिणाम दिन्छ वा दिँदैन वा कस्तो सुरक्षा प्रभाव पार्छ भनेर हेरिदैँछ।
खोपतस्बिर स्रोत,न्भ्त्त्थ् क्ष्ःब्न्भ्क्
तेश्रो चरण अन्तर्गतको परीक्षणमा हजारौँ मानिसहरूमा खोपको सुरक्षा, प्रभावकारिता र दुर्लभ प्रकारका नकारात्मक असर पनि हेर्ने गरिन्छ। हाल कोरोनाभाइरस विरूद्ध ८ वटा खोपको तेश्रो चरणको परीक्षण गर्ने प्रक्रिया चलिरहेको द न्यूयोर्क टाइम्सले जनाएको छ।
त्यसमध्ये चिनियाँ सेनाले विकास गरेको भनिएको सहित चार वटा खोप चीनमा विकसित भएको न्यूयोर्क टाइम्सको अगष्ट १९ सम्म अद्यावधिक गरिएको खोप ुट्रयाकरुले जनाएको छ।
चिनियाँ खोपको तेश्रो चरणको परीक्षण यूएई, ब्राजिल र साउदी अरेबियामा सुरु भइसकेको छ। पेरू र इन्डोनेशियाले पनि परीक्षणमा सहभागी हुने निर्णय गरेका छन्।
हालसम्म प्रारम्भिक अध्ययनमा सबैभन्दा राम्रो सङ्केत देखिएको भनिएको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडिस कम्पनी एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको तेश्रो चरणको परीक्षण ब्राजिल, अमेरिका, दक्षिण अफ्रिका र दोस्रो चरणको परीक्षण भारत र ब्रिटेनमा भइरहेको छ।
विज्ञहरुको भनाई
सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात कोरोनाभाइरसको खोप मात्रै नभइ उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानमा नेपालले पनि साझेदारी गर्नुपर्ने बतानुहुन्छ।
उहाँले भन्नुभयो, “दक्षिण एसियामा सङ्क्रमण बढिरहेको छ। यो अवस्थामा राम्रो छवि भएको विश्वविद्यालय र निकायहरूले हामीलाई सम्पर्क गर्दा हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि इच्छा व्यक्त गर्नुपर्छ। परिषद्को छवि राम्रो छ र त्यो सक्रिय हुन आवश्यक छ।”

डाक्टर बस्न्यातका अनुसार खोपको परीक्षण गर्दा तथ्याङ्कको सुरक्षा र बिरामीमा देखिएका नकारात्मक असरको अनुगमन गर्ने संयन्त्र आवश्यक पर्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् त्यस विषयमा अनुभवी रहको भन्दै उनले अनुसन्धान सहभागी हुँदा संसारमै देखा परेको नयाँ भाइरससँग जुझ्न नेपालले पनि सहकार्य गरेको भन्ने सन्देश जाने बताए।
“अनुसन्धान गर्दा काम नगर्न पनि सक्छ। त्यसले जथाभावी परीक्षणहरू, खोपहरू काम लाग्दैन भनेर प्रमाणित गर्यो भने त्यो पनि महत्वपूर्ण नै हुन्छ। तर सहभागी हुँदा अगाडिबाटै हामीले परीक्षण सफल भयो भने पछि हामीलाई पनि खोपहरू उपलब्ध गराइदिनुपर्यो भन्न सकिन्छ। त्यसमा एक किसिमले हाम्रो पनि दाबी रहन्छ।”
उहाँले कोभिड(१९ को खोप, उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा चीन हाल अग्रणी रहेको भन्दै नेपालमा चिनियाँ खोपको परीक्षणलाई अनुमति दिने अवस्थामा त्यसलाई चिनियाँ कामदारको पहुँचमा मात्रै राखिनु नहुने बताउनुभयो।
“चिनियाँलाई मात्रै गराउने भन्ने कुरा सुन्दै कस्तो कस्तो लाग्छ। गर्ने नै हो भने राम्रोसँग मापदण्डहरू पालना गरेर अनि निगरानी गरेर सबैलाई गर्नुपर्यो। हाम्रोमा त्यस्तो गर्नसक्ने जनशक्ति पनि छ।”
उनले केही समय पहिले अक्सफोर्ड विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिलेर ललितपुरमा टाइफाइडको खोपको परीक्षण गरेको उल्लेख गर्दै त्यसमा उक्त खोप एकदमै प्रभावकारी पाइएपछि पाकिस्तानमा प्रयोग भइरहेको बताउनुभयो।
अधिकारीहरूको भनाई
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव ज्ञवालीले आफूहरूसँग सहकार्यको इच्छा देखाउने निकायहरूसँग कुराकानी गरेर निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

“हामीसँग काम गर्ने इच्छा चिनियाँ पक्षले देखाएको छ। पहिले उहाँहरूसँग कुरा गर्छौँ।” ज्ञवालीले थप्नुभयो, “तेश्रो चरणको खोप परीक्षण गरिरहेको अक्सफोर्ड विश्वविद्यालयको समूहसँग पनि हामीले विश्वस्वास्थ्य सङ्गठन मार्फत् कुराकानी गरेका छौँ। उहाँहरू पनि इच्छुक देखिनुभएको छ। त्यहाँ पनि कागजपत्र पठाउने क्रममा रहेका छौँ।”
भारत बायोटेकले पनि कोभिड(१९ विरूद्धको खोपको परीक्षण अघि बढाइरहेको छ र त्यो हालसम्म पहिलो वा दोस्रो चरणमा रहेको बताइन्छ। सदस्यसचिव ज्ञवाली उक्त निकायसँग पनि सम्पर्कको प्रयास भइरहेको बताउनुहुन्छ।
अधिकारीहरूले यसअघि एउटा चिनियाँ समूहले पहिलो चरणको परीक्षणका लागि अनुमति मागेकोमा आफूसँग त्यसका लागि श्रोत साधन नभएको भन्दै नेपालले गएको एप्रिलतिर प्रस्ताव अस्वीकार गरिदिएको बताएका छन्।
ज्ञवाली भन्नुहुन्छ, “पहिलो चरणको परीक्षण जनावर र मानिस दुवैमा हुनसक्छ। तर हामीले सुरक्षाको मापदण्ड पुरा नभइसकेका परीक्षणमा तुरून्तै सहभागी नहुने भनेका छौँ। अहिले तेश्रो चरणको परीक्षणहरू पुगिसकेको हुनाले हामीले पनि इच्छा देखाएका हौँ।”
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड(१९ विरूद्ध लक्षित १ सय ७० भन्दा बढी खोपहरूबारेमा अध्ययन र अनुसन्धान भइरहेको छ।
साधारण रूपमा खोप बनाउन वर्षौँको परीक्षण र उत्पादनका लागि थप समय लाग्ने भएपनि वैज्ञानिकहरूले १२ देखि १८ महिनामा कोरोनाभाइरसको खोप तयार पार्ने अपेक्षा गरिरहेको बताइएको छ।


















