काठमाडौं, ३० असोज । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ।
कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा असोज ३० गते शुक्रबार बिहान भएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता सेयर हात परेका छन् भने ५ लाख ९० हजार ५ हजार ८५ जना आवेदकको हात खालि भएको छ।
सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको थियो ।
त्यसमध्ये ३ हजार ३ सय ६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता सेयरको आवेदन रद्द भएको थियो।
आइपीओ बाँडफाँटमा ८ लाख ६३ हजार ५ सय ८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपूर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई सेयर परेको हो।
कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।


















