
काठमाडौं, १६ पौष । नेपाली कांग्रेसले आज पौष १६ गते देशभर विभिन्न कार्यक्रम गरेर राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउने भएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा कार्यक्रम आयोजना गर्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय प्रचार प्रसार विभागले आयोजना गरेको कार्यक्रमलाई बिहान साढे ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइराला २०२५ सालदेखिको ८ वर्ष लामो भारत निर्वासनपछि राष्ट्रमाथि ठूलो संकट आउने देखेर आफ्माथि मृत्युदण्ड समेतका मुद्दाहरु चलिरहेको बेलामा राष्ट्रिय अस्तित्वका लागि आन्तरिक राजनीतिक शक्तिहरुबीचमा मेलमिलापको आह्वान गर्दै आफ्ना राजनीतिक सहयोद्धा गणेशमान सिंहसहित नेता र कार्यकर्ताहरुसहित २०३३ साल पौष १६ गते स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।
२०१७ साल पौष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारका प्रधानमन्त्री प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी जननिर्वाचित संसदसमेत भंग गरेर आफ्नो प्रत्यक्ष शासन चलाएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको थियो। पौष १ गते नै बीपीसहित उहाँको मन्त्रिपरिषद् र संसद सदस्यहरुलाई पक्राउ गरी जेलमा राखिएपछि आफ्नो घाँटीको क्यान्सर उपचारको लागि ७ वर्षको जेल जीवनपछि २०२५ सालमा छुट्नुभएका वी.पी. कोइराला भारत प्रवासमा जानुभएको थियो। उहाँले भारतमा नै बसेर २०१७ सालमा अपहरण गरिएको बहुदलीय संसदीय प्रजातन्त्रको पुनस्थापनाको लागि सशस्त्र संघर्षको आह्वान गर्नुभएको थियो ।
तर राजा महेन्द्रले सो आन्दोलनप्रति लिएको चर्को दमन नीति र छिमेकका साना देशहरुमाथि विश्वका शक्तिशाली मुलुकहरुको हस्तक्षेप बढ्दै गएको घट्नाले देशबाहिर बसेर आफ्नै देशमा सशस्त्र आन्दोलन गर्न उहाँको ब्रह्मले अनुमति दिएन र उहाँले सशस्त्र संघर्षको मार्ग परित्या गरी शान्तिपूर्ण माध्यमबाट देशको राजनीतिक समस्या समाधान गर्ने आह्वान गर्दै स्वदेश फर्किने निर्णय लिनुभयो, त्यही नै मेलमिलापको नीति थियो ।
उहाँले दलिय राजनीतिमा विश्वास गर्ने राजनीतिक दलका नेताहरु तथा निर्दलियतामा विश्वास गर्ने राजाबीच आपसी समझदारी कायम गरी बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहालीको ंसंभावना देख्नुभएको थियो ।
के हो त वी.पी.को मेलमिलाप नीति ?
वी.पी.को मेलमिलाप नीतिको बारेमा धेरै ब्याख्या र विश्लेषण पाइन्छन् ती मध्ये यथार्थको निकट रहेको वीपी विचार नेटवर्कको एक आलेखबाट :
वास्तवमा वि.पी. को मेलमिलापको नीति केवल सत्ता प्राप्ति , सरकार वा सत्ताको टिकाउ र समग्रतामा भन्नु पर्दा सत्ताको सिँडी वा भ¥याङ होइन र थिएन त्यो त राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको बिचको एकता थियो ,जसबाट बलियो नेपाली राष्ट्रियताको जगमा प्रजातन्त्र को सुन्दर नेपालरुपी वगैँचाले सबै नेपालीहरुका माझ कुनै भूगोल,जाति,वर्ग, लिङ्ग वा क्षेत्रमा विना भेदभाव स्वास्थ्य सेवा, प्रभावकारी आर्थिक नीति योजना र कार्यक्रम, असल शिक्षा र चेतनाले सम्वृद्धिको सुवास छर्न र समता मूलक समाज र राष्ट्र निर्माण गर्न, सकोस भन्ने आव्हान र सन्देश थियो,जस्का लागि रा«ष्ट्रवादी खास गरी राजा र प्रजातन्त्रवादीहरु बिच राष्ट्रनिर्माण र प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन व्यवस्था वा परिपाटी कायम गर्न एकले अर्काकोअस्तित्व र आवश्यकतालाई निसंकोच सम्मान गर्नुपर्ने अपरिहार्य शर्त निहित थियो, जसबाट देश पनि बाच्ने र जनताको शाषण पनि स्थापित हुन्थ्यो ।
त्यसैले वी. पी भन्नु हुन्थ्यो, “देश मा सबैभन्दा वढी राष्ट्रवादी राजा हुन्छन् र हुनुपर्छ किनकि देश नरहे राजा नै रहँदैनन” र “राजाले पनी प्रजातन्त्रको मूल्य मान्यता र आदर्शलाई ब्यवहार आचारण चरित्र र अभ्यासद्धारा संवैधानिक रुप मै आत्मसात गर्न सक्नुपर्छ, त्यसो भए मात्र जनता को मनोबल उच्च हुनेछ र उच्चमनोबल भएका जनताको देशभक्तिपूर्ण भावनाले मात्र देश बलियो हुन्छ राष्ट्र वा देश रहिरहे मात्र राजा पनि रहिरहन सक्नेछन् अन्यथा देश नरहे राजा कहाँ रहन्छन ? प्रजातन्त्रवादीको पहिचान त विश्वमा जहाँसुकै रहिरहन्छ”। त्यस्तै ”राजालाई प्रजातन्त्र नचाहिए मलाई वा नेपाली काँग्रेसलाई पनि राजा वा राजतन्त्र चाहिदैन ।” समेत वी.पी. ले भन्नुभएको थियो यसरी वी. पी समुन्नत वा समृद्ध राष्ट्रका लागि राष्ट्रवादी र प्रजातन्त्रवादीकाबिच न्युनतम एकता र सहअस्तित्व चाहानुहुन्थ्यो ।
राजनीति वा सत्ताका लागि प्रतिस्पर्धा गर्दै गरौला तर राष्ट्र र राष्ट्रियता को लागि राष्ट्रवादी र प्रजातन्त्रवादी बिचको बलियो एकतालाई अपरिहार्य ठान्नु हुन्थ्यो । भारतमा सिक्किमको बिलय, सोभियत यूनियनबाट अफगानिस्तानमा सैन्य हस्तक्षेप, सोभियत संघ र अमेरिका बिचको चरम शीतयुद्धमा सोभियत संघको ध्रुबमा भारतको समर्थन, इन्दिरा गान्धीको सत्ताबिरुद्धमा जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति, दक्षिण एसियामा बढ्दो अशान्ति र संर्घष, भारतमा इन्दिरा गान्धिको सरकारबाट संकटकालको घोषणा एवम् इन्दिरा गान्धी वा भारतबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा असहयोगको तत्कालीन भारतीय तथा अन्य वाह्य परिस्थिति तथा पञ्चायती शासकहरुको निर्मम गोलि प्रहारबाट ओखलढुंङ्गाको टिम्मुरबोटेमा राम उपाध्याय, लक्ष्मण उपाध्याय (रामलक्ष्मण), महेश कोइराला, मानबहादुर बखिंम लिम्बु, पद्मप्रकाश पुरी, नेत्रबहादुर कार्की, लालबहादुर तामाङ, प्रजालाल राई, श्यामकुमार गुरुङ्ग तथा अलि पर ठाडे भन्ने स्थानमा शिवकुमार राई, अगमनि (अगमणि) राई, मानबहादुर तामाङ, चन्द्रबहादुर तामाङ् र सोको भोलिपल्ट टिम्मुरबोटे ओडारमा मरणासन्न अवस्थामा फेला परेका रामप्रसाद राईलाई सोलुखुम्बु पु¥याएर आततायी पंञ्चायती शासक र सेनाबाट मच्चाईएको क्रुर, जघन्य तथा पाशविक हत्याकाण्डबाट होनाहार युवाहरुको साहादात जस्ता तत्कालीन भयावह परिस्थितिका बखत् बीपीमा ‘देश खतरामा छ’ भन्ने चेत (चेतना)को झिल्को उदय भएका कारण त्यस्तो विषम परिस्थितिबाट अन्य सबै विषयहरुलाई तत्कालका लागि गौण राखी मुलुकलाई जसरी हुन्छ बचाउनु पर्छ भन्ने एक मात्र उद्देश्यका साथ नेपाल फिर्तीको शाहसिक निर्णय भएको थियो भन्ने सत्यलाई आम नेपालीले बुझ्न जरुरी छ ।
यसलाई अन्यथा ढंगले बुझ्ने र ब्याख्या गर्ने गरियो भने साचो अर्थमा वी.पी र वहाँको राष्ट्रिय एकता र मेलमिलापको नीति र आह्वानप्रति अन्यायमात्र नभएर बुझाई निरर्थक समेत हुन जाने छ भन्दा अत्युक्ति हुदैन ।
यसरी नै बलियो राष्ट्रियताको आधारशिलामा रङ्गीबिरङ्गी फुलबारी रुपको नेपाल फुल्छ, फक्रन्छ र आमनेपाली जन जन मा सुवास छर्दे जान्छ भन्ने निष्कर्ष वी.पी.को थियो । यो नै साँचो अर्थमा वी.पी. कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति र सन्देश थियो जुन आज पनि उत्तिकै अनिवार्य र सान्दर्भिक छँदै छ ।
वी.पी.को स्वदेश फिर्ती
ओखलढुङगाको टिम्बुरबाटे काण्डको केहीदिन भित्रै भारतले सिक्किमलाई आफूमा मिलायो, ३२ सिट भएको लेन्डुपको पार्टीले भारतकै सहयोग र भूमिकाको बलमा ३१ सिट ल्याएको र संसदबाटै भारतमा विलय गर्ने प्रस्ताव पारित भई सिक्किमको सार्वभौमसत्ता र स्वतन्त्रता समाप्त भएको थियो, जस्को पृष्ठभूमिको कारण सिक्किममा जनता र राजाबिच को संघर्ष द्वन्द्व र झगडा नै थियो ।
प्रजातन्त्र र निरङ्कुश राजतन्त्रबिचको संघर्ष ले ल्याएको सिक्किमको विपत्ती र नियतिलाई वी. पी ले एउटा दुखान्तक आश्चर्यका रुपमा लिनु भयो । र, नेपालको राजतन्त्र र प्रजातन्त्रवादीहरुको बिचको संघर्षको सम्भावित परिणामको रुपमा आँकलन गरी सक्नु भएको थियोे । नेपालमा दरबार र पञ्चायतको मलजलमा वामपन्थीहरुको संगठन शक्ति र प्रभाव क्रमशः बढ्दो थियो, जो प्रजातन्त्र र राजतन्त्र दुवैकाविरुद्ध ऐन मौकामा प्रयोग हुन सक्थ्यो भन्ने तथ्य तत्कालीन परिस्थितिमा विश्वमा साम्यवादले प्रमाणित गर्दै थियो ।
सिक्किम को प्रजातन्त्रीकरण को अभियानको प्रारम्भमा वी.पी. ले ठूलो उत्साह देखाउनु भएको थियो र सिक्किम का युवाहरु ले नेपालको सारनाथमा आएर उँहासँग भेटघाट र सरसल्लाह समेत लिएका थिए । सिक्किमको विलयले वी.पि.लाई गम्भीर र भावुक तुल्याउन पुग्यो भने तिनैताका जयप्रकाश नारायणको नेतृत्व मा हिन्दुस्तानमा सम्पूर्ण क्रान्तिको अभियान चलेकोे थियो । इन्दिरा गान्धीले त्यसबाट अत्तालिएर संकटकालको घोषणा गरिन् । जुन घटनाले वी.पी. कोइरालाको जीवनमा वैचारिक र राजनैतिक आघात पुगेको थियो । त्यस घटनाबाट इन्दिरा गान्धीले नेपालको प्रजातन्त्रको निम्ति मद्दत गर्ने आशा करिब समाप्त भयो । जयप्रकाश नारायण र चन्द्रशेखर लगायत वी.पी.का सबै शुभेच्छुक मित्रहरु जेल परे ।
यी घटनाहरु समेत वी.पी.को नेपाल फर्कने कारण बन्दै गए। जयप्रकाश नारायण र चन्द्रशेखर लाई जेल हाले पछि ईन्दिरा गान्धीले आफ्नो नजिकका विश्वासी महाराजा कृष्ण रसगोत्रालाई नेपालमा राजदूत बनाएर पठाएकी थिईन । राजदूत रसगोत्राको पनि स्पष्ट सल्लाह वी.पी.ले नेपाल फर्कनु पर्छ भन्ने नै रह्यो । त्यस्तै प्लेन अपहरणको मुद्दालाई आधार बनाएर वी.पीका सहयोगी दुर्गा सुवेदी वनारसमा पक्राउ पर्नुभयो भने लगत्तै दिल्लीमा वी.पीको निवासै अगाडी सुशील कोइराला थुनिनु भयो । यसैक्रममा सायद अब गीरिजाबाबुलाई समेत थुन्ने तयारी हुँदे थियो । वी.पी.को स्वदेश फीर्ति अघि परीक्षणको रुपमा के.बी. (कुलबहादुर) गुरुङ्ग, बासुदेवशरण कोइराला र धर्म गौतमहरु समेत साहसिक निर्णयका साथ पटनाबाट नेपाल फर्की सक्नु भएको थियो ।
अन्य आन्तरिक र वाह्य परिस्थिति
सिक्किमको भारत विलयको नियति का साथ साथै विश्व तत्कालीन सोभियत संघ र अमेरिका विचको शित युद्धको चरमोत्कर्षमा थियो । एसिया अशान्त हुँदै थियो । अमेरिका भियतनामबाट पछि हट्न विवश भएको थियो भने तत्कालीन सोभियत युनियनले अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाका निकट सहयोगी शाह सत्ताको विरुद्द इरानमा ठूलो संघर्ष र आन्दोलन चर्काइरहेका थिए, जुनबेला भारत प्रष्टसंग सोभियत संघको ध्रुवमा उभिएको थियो । अमेरिकामा जिमी कार्टर राष्ट्रपति थिए । उनले मानव अधिकार र प्रजातन्त्र को पक्षमा जोडदार वकालत गर्दैं थिए । राज वीरेन्द्र पनि भारत सोभियत संघको ध्रुवमा उभिएको घटनाले भारतप्रति सशंकित थिए भने अर्कोतिर अमेरिकाप्रति केही झुकाव बढाउँदै थिए । यस्तो परिस्थितिमा वि.पी. कोइरालाले राजा वीरेन्द्रबाट प्रजातान्त्रिक व्यवस्थाका लागि सहानुभूति पाउने आशा राख्नुलाई स्वभाविक मान्नैपर्दथ्यो । तर यसैबिच इमरजेन्सी पछि हिन्दुस्तानमा भएको आम चुनावमा इन्दिरा गान्धी नराम्ररी पराजित भइन् र वी.पी. कोइरालाप्रति सद्भाव राख्ने जनता पार्टीको सरकार बन्यो, जुन सरकारसँग वी.पी. को विश्वदृष्टि मिल्थ्यो । वी.पी. कै प्रशंसक मित्र जनतापार्टीका अध्यक्ष चुनिएका थिए ।
तर नेपालमा प्रजातन्त्रका खातिर नेपाली कांग्रेसले स्वदेश र प्रवासबाट संञ्चालन गरेको ससस्त्र क्रान्ति तथा कयौँ अनुचित कारण र वहाना देखाएर थुप्रै घटना, काण्ड र क्षतिका नायकका रुपका वी.पी. माथि ७/८ वटा संगीन अपराधको आरोप र अभियोग अदालतमा थियो जस्को बयानका लागि मात्र १ महिना भन्दा बढि समय लगाइएको थियो । दरबार र पञ्चायती शासकहरुले बद्नियत र षड्यन्त्रपूर्वक लगाइएको झुट्टा मुद्दा मध्ये कुनै एउटा मात्र मुद्दामा वी.पी. ले हारेमा मुत्युदण्ड हुन्थ्यो ।
यस्ता जोखिमपूर्ण र मुत्युवरणको तयारीका साथ वी.पी.ले भारतमा बसेर आयु लम्याउनुभन्दा बरु नेपालमा गएर तुरुन्त मर्ने कडा वक्तव्यमार्फत आफ्ना सहकर्मीहरु गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का र निलाम्बर पन्थिका साथ ज्यानको बाजी थापेर भारत प्रवास त्यागगरी नेपाल फर्कनु भयो । तर पनि राष्ट्रिय मेलमिलापको नीती र आव्हानका साथ भएको वी.पी. को स्वदेश फिर्तीको त्यस साहसिक तथा ऐतीहासिक कदमलाई नेपालका बामपन्थीहरुले रुचाएनन् र स्वागत पनि गरेनन्, भने दरबारको आदेशमा काठमाडौं विमानस्थलबाट सिधै सुन्दरिजल जेलमा लगेर हालियो जहा प्रजातन्त्रको अपहरण लगतै राजा महेन्द्रले २०१७ देखि २०२५ सम्म ८ वर्ष सम्म वी.पी.लाई काराबासको सजाय दिएका थिए ।
यस घटनालाई बलियो नेपाली राष्ट्रियताको जगमा प्रजातान्त्रिक/लोकतान्त्रिक नेपालको भविष्यका लागि दुर्भाग्य शिवाय अरु केही भन्न सकिन्न, जस्को परिणति कालान्तरमा २ सय ४० वर्ष लामो राजतन्त्रको समाप्ति अवश्यंभावी थियो, त्यस्तै भयो ।