Prakash Adhikari December 31, 2020

 

साना(यमन), १६ पौष (बीबीसी) । यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू ूसकुशलूरहेको बताउनुभएको छ।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाउनुभएको छ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।


त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।

यमन आक्रमण

यमन आक्रमण

स्वागतका लागि एयरपोर्ट पुगेको भिड

भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो। समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन्।

अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताउनुभएको छ। हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन।

साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ।

यमनको एउटा समाचार वेबसाइट अल(मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।

प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।

सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।

 

Share Now

Leave a comment.