बुटवल(रुपन्देही), २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित सन्दर्भमा आफ्नो पार्टीको प्राथमिकता संगठनको पुनरुत्थान रहेको बताउनुभएको छ ।
बुटवलमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले अबको आफ्नो मुख्य जोड भनेको संगठन निर्माण रहेको बताउँदै अबको तीन वर्षमा आफू काठमाडौँ छाडेर बाहिर बस्ने र माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने दावी पनि गर्नुभयो।
‘अब म काठमाडौँ कम बस्छु र जिल्लाहरुमा बढी’, उहाँले भन्नुभयो, ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने माओवादी केन्द्र एक नम्बर पार्टी बन्नसक्छ, त्यो तागत अझै हामीसँग छ।’
कार्यकर्तालाई संबोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च् अदालतले सत्तारुढ नेकपाबाट फूटाइदिएको नेकपा एमालेका परिवर्तन र अग्रगमनकारी शक्तिहरु प्रतिगमनको सती जान नसक्ने र ढिलोचाँडो अग्रगमन पक्षधर माधव नेपाल समूह पार्टीको नेतृत्वमा पुग्ने दावी पनि गर्नुभयो ।
उहाँले नेपाल समूहले एमाले कब्जा गर्न कम्युनिष्ट आन्दोलन र नेपालको प्रजातान्त्रिक आन्दोलन जोगाउन नसके विद्रोह गर्नुपर्ने अवस्था आउने पनि भविष्यवाणी गर्नुभयो।
‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भन्नुभयो, ‘उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’
प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सो कदमविरुद्ध नेपाल र खनालसहित देश दौडहामा निस्कदा आफूहरुमा कम्युनिष्ट आन्दोलन, २०६२। ६३ को जनआन्दोलनको उपलब्धि र वर्तमान संविधान तथा व्यवस्थाप्रति समान धारणा विकसित भएको बताउदै यसले आउदा दिनमा लोकतन्त्र र गणतन्त्रको रक्षाको निमित्त एकसाथ काम गर्ने आधारभूमि तयार गरेको बताउनुभयो ।


















