काठमाडौं, ४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जान प्रस्ताव गरेपछि आफूहरूले प्रतिवाद गरेको माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूले बताउनुभएको छ।
गत पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा आफैले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको फागुन ११ गतेको ऐतिहासिक फैसलाले पुनर्स्थापना गरेपछि मङ्गलवार पहिलो पटक राष्ट्रपति भण्डारीले सर्वदलीय भेटघाटको आयोजना गर्नुभएको थियो।
सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको भन्दै त्यो अवस्थामा ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने धारणा बैठकमा राख्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ।
उक्त बैठकमा राष्ट्रपति भण्डारीले अर्को हप्ता हुने बाङ्ग्लादेश भ्रमणसहितको विषयमा जानकारी गराउनुभएको थियो।
प्रचण्ड र रामचन्द्रको प्रतिवाद
शीतलनिवासमा आयोजित भेटघाटमा प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्बाट पनि निकास निस्कने सम्भावना नरहेको भन्दै ताजा चुनावमा जानुपर्ने धारणा राख्नुभएको थियो।
तर उक्त प्रस्तावमा आफ्नो दलका अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका कतिपय नेताले पनि असहमति जनाएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो।
‘प्रतिनिधिसभा पुनर्स्थापित भएपनि संसद् परिणाममुखी स्थिति छैन। सल्लाह गरेर चुनावमा जाऊँ भनेर प्रधानमन्त्रीले कुरा उठाउनुभयो। त्यसमा हामी दुइटा कोणबाट सहमति हुनसक्ने स्थिति थिएन। एउटा संवैधानिक र संसदीय प्रक्रियाबाट नै अघि बढ्नुपर्ने हन्छ। संसद् र संविधानबाट फैसला गर्ने हो। दोस्रो राष्ट्रपति कार्यालय यो विषयमा छलफल गर्ने उपयुक्त थलो पनि होइन।’

ताजा जनादेशमा जाने प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विमति जनाउनुभएको थियो।
उहाँले भन्नुभो, ‘अहिले पनि पाँच वर्ष सरकार चलाउने भनेर हामीले भनेकै थियो। ताजा जनादेशमा जाँदा अहिलेको जस्तै अवस्था दोहोरिँदैन भन्ने ग्यारेण्टी कसले गर्छ।’
यसअघि मङ्गलवार आयोजित एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले प्रभावकारी भूमिका खेल्न सक्ने अवस्था नदेखिएको र प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश प्रस्तुत हुने व्यवस्था कार्यान्वयन नगरेर सभामुखले आफ्नो संवैधानिक दायित्व पूरा नगरेको आरोप लगाउनुभएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले कि त संसद् प्रभावकारी ढङ्गले चल्नुपर्यो नत्र ताजा जनादेशमा जानुपर्छ भनेर भन्नुभएको हो।’
सर्वोच्च अदालतको हालैको फैसलाले नेपाल कम्युनिस्ट पार्टी खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताँइदिएपछि प्रधानमन्त्री ओलीले आफ्नो दलभित्रको असन्तुष्ट माधवकुमार नेपाल खेमाबाट विरोधको सामना गरिरहेका छन्।

ओली नेपाल
सोमवार प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल पक्षबीच छलफल भएको थियो
प्रतिनिधिसभाले सरकार दिन नसक्ने अवस्थामा चुनाव
शीतल निवासमा आयोजित बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्ने र चुनावमा जाने आफ्नो पहिलेको निर्णय सही रहेको दोहोर्याएका थिए।
डा. लोहनीले भन्नुभयो, ‘संसद् चलाउने वातावरण बनाउनुपर्यो। प्रजातन्त्रमा जनादेशमा जाने कुरा पनि बेठिक होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो। प्रजातन्त्रमा जनादेशमा जाने कुरा बेठिक हो भनेर कसैले भनेको छैन। तर जाने प्रक्रिया पनि संविधानले जुन निर्धारण गरेको छ त्यसलाई उछिनेर जान पाइँदैन नि।’
प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गराउने सरकारको निर्णय सर्वोच्च अदालतले गत फाल्गुन ११ गते खारेज गरिदिएको थियो।
प्रतिनिधिसभाबाट नयाँ सरकार बन्न नसक्ने अवस्थामा संसद् विघटन गरी ६ महिनाभित्र अर्को चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ।(बीबीसीबाट)


















