Prakash Adhikari March 17, 2021

 

काठमाडौं, ४ चैत । कोरोना भाइरसको कारण सिथिल भएको नेपालको पर्वतीय पर्यटनमा खाडी राष्ट्रका राजपरिवारको केही आरोहण दलले जीवन्त बनाउन सघाएको पृष्ठभूमिमा यस पटक सर्वोच्च शिखरको आरोहणको उच्च आकांक्षा राखेर बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको छ ।

तर पर्यटन उद्योग धराशायी भएको अवस्थामा नेपालको पर्यटनका लागि नया स्रोत मुलुकका रुपमा देखिएका खाडीका धनाढ्य पर्यटकहरु नेपाल भित्रिदा भने तिनीहरुलाई सत्कार गर्न छाडेर नेपालका नियामक निकायहरु भने तिनीहरुमाथि छानबिन गर्न अग्रसर भएका छन् ।

यसै क्रममा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने उच्चाकांक्षा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रनुभएका बहराइनका राजकुमारले कोरोनाको खोप पनि लिएर आउनुभएको छ । मनास्लू हिमालको सफल आरोहण गरिसक्नु भएका राजकुमारले त्यस क्षेत्रका बासिन्दालाई कोरोना भाइरसको खोप प्रदान गर्ने इच्छा साकार पार्न उहाँले कोरोना खोप लिएर आउनुभएको थियो ।

 

अहिले नेपाल सरकारले पैसा तिरेर खोप किन्छु भन्दा पनि पाइरहेको छैन । उसले भारतले दिएको अनुदानको खोप र संयुक्त राष्ट्रसंघको कोभ्याक्स अन्तरगतको कोभ्याक्स र केही भारतबाट किनिएको खोपले पहिलो मात्राको खोप अभियान सञ्चालन गरिरहेको छ ।

तर नेपाललाई खोप दिन चाहने बहराइनका राजकुमारलाई निरुत्साहित गर्दै सरकारले भने उहाँले कसरी खोप ल्याउनुभयो भनेर अनुसन्धान थालेको छ।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल(खलिफा सोमवार झन्डै २ हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुग्नुभएको हो। बहराइन दूतावासले जनाए अनुसार राजकुमारले गोरखा जिल्लाका चुननुब्री उपत्यका सामागाउँबासीलाई उक्त खोप प्रदान गर्न चाहनुभएको े छ।

भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मङ्गलवार द हिमालयन टाइम्स पत्रिकालाई बताए अनुसार सात दिन क्वारेन्टाइनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।

त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको छ ।

त्यसपछि सगरमाथा आरोहण गर्ने राजकुमारको योजना रहेको बताइएको छ।

आफ्नो देशमा आउने विशिष्ट आगन्तुक अतिथिहरुको साथमा आउने सहयोग सामग्रीका बारेमा भ्रमणको व्यवस्थापन गर्ने निकायहरुले व्यवस्थापन गर्नुपर्ने हो । बहराइनमा नेपाली राजदूतावास पनि रहेको छ । आउने र ल्याउने सामग्रीका बारेमा सरकारी निकायहरु बेखबर रहने स्थिति छैन ।

खोप सुरक्षित छ र उपयुक्त भण्डार विधि प्रयोग गरेर ल्याएको छ भने ती अमूल्य खोपहरुको सदुपयोग हुन जरुरी हुन्छ । त्यसले एकातिर मागेर खोप लगाउनुपर्ने अवस्थाका हामी नेपालीलाई जीवनदान दिने छ भने अर्कोतिर दाता बनेर आउनेको मान पनि राख्नेछ ।

यस्तो मन्दीको समय सगरमाथा आरोहण गरेर विश्वभर पर्वतारोहणको लागि नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन अग्रसर विदेशी राजघरानाका विशिष्ट पाहुनाको मनोवललाई प्रोत्साहित पनि गर्ने छ ।

नेपालले २७ ज्यानुअरीबाट खोप कार्यक्रम सुरु गरेको छ र उसले जोखिम समूहलाई प्राथमिकतामा राखेर खोप दिइरहेको छ।६५ वर्ष र माथिका उमेर समूहका मानिसहरूले यतिखेर नेपालमा खोप लिइरहेका छन्।तर भारतबाट पैसा तिरेर किन्न लागिएको खोप उत्पादक सिरम इन्स्टिच्युटले तत्काल दिन नसक्ने जानकारी दिएपछि दोस्रो मात्र लगाउने कार्यक्रम प्रभावित हुने देखिएको छ ।

यस्तो अवस्थामा विश्वमा प्रमाणित भैसकेका र नेपालको स्वास्थ्य मन्त्रालय तथा औषधी व्यवस्था विभागले पनि प्रयोगका लागि स्वीकृत दिएका खोपहरु ल्याउन अनुमति दिनु आवश्यक हुन्छ ।

 

Share Now

Leave a comment.