नयाँदिल्ली(भारत), १२ चैत्र (बीबीसी) । भारतले अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ ।
विदेशमन्त्रालयको भरपर्दो स्रोतले बीबीसीलाई बताए अनुसारकोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकोले यस्तो अस्थायी रोक लगाइएको हो ।
भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।
यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १ सय ९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।
भारतले यो कदम किन चाल्यो ?
भारतभित्रै कोरोनाभाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको छ। यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखियो जसमा ४७ हजार भन्दा बढी नयाँ सङ्क्रमित छन् भने २ सय ७५ को मृत्यु भएको छ।
भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्।
‘निर्यात रोक्ने अस्थायी उपाय हो। घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ’, बीबीसीका सौतिक विश्वासलाई विदेशमन्त्रालयका एक उच्च स्रोतले भन्यो।
उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ।
विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीवार यता भारतले कुनै निर्यात गरेको छैन।
‘बाँकी सबै कुरा कम्तीमा अहिलेका लागि रोकिएको छ,ू मन्त्रालयका एक स्रोतले रोयटर्स समाचार संस्थालाई भनेका छन्। ूभारतको अवस्था स्थिर नहुँदासम्म कुनै निर्यात हुँदैन।’

सिरम इन्स्टिट्युटले उत्पादन गरेको कोभिसिल्ड देखाउँदै एक महिला
निर्णयबारे सरकार वा एसइइका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्।
पृष्ठभूमि
एसआइआइ (विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी) ले यसअघि नै आस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ।
गत साता, बीबीसीले ५० लाख खोप पठाउन चार साताका लागि रोकिएको भनेर समाचार लेखेको थियो।
एसआइआइका प्रवक्ताले त्यतिबेला भनेका थिए, ‘सरकारको खोप कार्यक्रमको आवश्यकता र तत्कालको अवस्था हेरेर हामी पछि आपूर्ति गर्ने कोसिस गर्छौं।’
एसआइआइले निम्न र मध्यम आय भएका देशहरूका लागि यो वर्ष एक अर्ब खोप उत्पादन गर्ने जनाएको छ।
अनि ज्यानुअरीमा उसले महिनाको छ करोडदेखि सात करोडसम्म खोपहरू बनाउन सक्ने बताएको थियो।
यो सङ्ख्यामा आस्ट्राजेनेका र अमेरिकामा विकसित तर भारतमा प्रयोगका लागि अनुमति पाउन बाँकी रहेको नोभाभ्याक्स खोप पर्छ।
ज्यानुअरीमै एसआइआइले बीबीसीसँग मार्च महिनाबाट प्रति महिना १० करोड खोपको मात्रा बनाउने उद्देश्य राखेको बताएको थियो।
यद्यपि, हालै गरिएको जाँचले ६ देखि ७ करोड मात्रामा नै बनिरहेको र त्यसमा वृद्धि नभएको थाहा भएको थियो।
भारतीय सरकारले ज्यानुअरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ।
अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो।


















