नयाँदिल्ली (भारत), १२ चैत्र(बीबीसी) । भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ुडबल म्युटेन्टु अर्थात् उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोनाभाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्।
१० हजार ७ सय ८७ नमुना परीक्षण गरिएकोमा ७ सय ३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो।
भारतमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क आइरहँदा कोरोनाभाइरसका नयाँ प्रकार देखिएको हो।
तर सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ।
बढ्दो सङ्क्रमण दर
बुधवार मात्रै भारतमा ४७ हजार २ सय ६२ जना सङ्क्रमित थपिएका छन् भने २ सय ७५ जनाको कोभिडका कारण मृत्यु भएको छ।
पछिल्लो वृद्धि सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा उच्च हो।
भाइरसहरू उत्परिवर्तित हुनु सामान्य हुन्छ र अधिकांश उत्परिवर्तन चिन्ताको विषय हुँदैन तथा त्यसले सङ्क्रमण फैलाउने दरमा परिवर्तन ल्याउने अथवा गम्भीर सङ्क्रमण निम्त्याउने हुँदैन।
तर यूके र दक्षिण अफ्रिकी भेरिअन्ट अझ बढी सङ्क्रामक हुन सक्ने र कतिपय अवस्थामा घातक हुन सक्ने पनि देखिएको छ।
अझ सङ्क्रामक हुन सक्ने
भाइरोलोजिस्ट डा. शाहीद जमीलका अनुसार डबल म्युटेन्टमा उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने गर्छ।
त्यो भाइरसले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् सङ्क्रामक हुन सक्ने डा. जमीलले बताए।
भारतमा हालसम्म एक करोड १७ लाख व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने एक लाख ६० हजार व्यक्तिको ज्यान गइसकेको तथ्याङ्क छ।
पछिल्लो समय सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथाम गर्ने प्रयासमा थुप्रै राज्यले पुनः प्रतिबन्धात्मक कदमहरू चाल्न थालेका छन्। त्यसमा कर्फ्यूदेखि लकडाउनसम्मका कदम रहेका छन्।


















