गाजा(प्यालेष्टाइन), ७ जेठ(बीबीसी) । झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरायल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ।
युद्धविराम स्थानीय समयानुसार शुक्रवारको बिहान २ बजेबाट शुरु भएको छ।
प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्।
गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरायलतर्फ रकेट प्रहार रोकिएको छ।
इजिप्टले इजरायल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाउँदैछ।
हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरायलले ती दाबी अस्वीकार गरेको छ।
अमेरिकाद्वारा स्वागत
अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गर्नुभएको छ।
यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उहाँले बताउनुभएको छ।
युद्धविराम लागु हुनुअगावै बोल्दै राष्ट्रपति बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा नेतान्याहुँलाई बधाइ दिएको बताउनुभएको थियो।
साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिनुभएको छ।

गाजा
अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उहाँले बताउनुभएको छ।
ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई युद्धविराम स्थायी बनाउन आग्रह गर्नुभएको छ ताकि सो क्षेत्रमा हिंसाको चक्र तोडियोस्।
तर इजरायलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले युद्धविरामको निन्दा गरेका छन्।
युद्धविरामबारे विश्लेषक
बीबीसी संवाददाता सेबास्टियन असर भन्नुहुन्छ, यदि युद्धविराम प्रभावकारी भएमा सबै पक्षले इजरायल तथा हमासबीचको पछिल्लो द्वन्द्वले उक्त क्षेत्रको अवस्थाबारे कस्ता परिवर्तन गराएका छन् भनेर नियाल्नेछन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भन्नुभएको छ, उहाँको देशको लक्ष्य हमास तथा अन्य प्यालेस्टिनी विद्रोही समूहहरूको क्षमतामा ह्रास ल्याइदिनुरहेको थियो र उक्त लक्ष्य प्राप्त भएको छ।

तर त्यसको बदलामा चर्को मानवीय मूल्य तिर्नु परेको ठानिन्छ।
विश्लेषकहरू भन्नुहुन्छ, अब इजरायलीहरूले गाजामा गरिएका बमबारीले के अब साँच्चै आगामी दिनमा हमाससँग घातक सङ्घर्ष रोक्नेछ त भनेर प्रश्न गर्नेछन्।
जबकि हमासले चाहिँ आफ्नो सङ्गठन जोगिएकोमा नै विजय मनाउनेछ।
त्यस्तै प्यालेस्टिनी तथा उनीहरूका समर्थकहरूले चाहिँ यो भिडन्तसँगै प्यालेस्टीनी मुद्दाले फेरि एक पटक विश्वको ध्यान खिच्ने आशा गरेका छन्।
युद्धविरामपछि इजरायलभित्रै दशकौँपश्चात् देखिएका यहुदी तथा अरब इजरेली समुदायबीचको तनाव मत्थर हुने इजरायलको आशा छ।


















