Prakash Adhikari June 16, 2021

मेलम्ची (सिन्धुपाल्चोक), २ असार । अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् ।

मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।

बाढीले मेलम्ची खानेपानीको ‘क्याम्प साइट’ बगायो, आठ कामदार सम्पर्कविहीन
तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो

जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गर्नुभएको जनाइएको छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाँले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने बताउनुभयो। उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उहाँले जोड दिनुभयो ।

राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । यसैगरी उहाँले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दनुभयो ।

 

Share Now

Leave a comment.