Prakash Adhikari June 16, 2021

 

काठमाडौं, २ आषाढ । नेपालमा विगत २४ धण्टामा कोरोना भाइरसबाट थप २ हजार ८ सय २८ जना संक्रमित भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीमध्ये ४ हजार ३ सय३५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

सो अवधिमा ३ हजार ८२ जना सङ्क्रमणमुक्त भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ३७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८ हजार ५ सय५८ पुगेको छ।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८८.५ प्रतिशत निको भइसकेका छन्।

प्रवक्ता डा.पौडेलका अनुसार असार १ गतेसम्म ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् जुन तुलनात्मक रूपले घट्दै गएको देखिन्छ।

नेपालका कुल सङ्क्रमितमध्ये ७९ प्रतिशत २० देखि ५९ वर्षका, ११ प्रतिशत ६० वर्षभन्दा माथिका र नौ प्रतिशत १९ वर्षसम्मका रहेका छन्।

काठमाडौं उपत्यकामा धेरै

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

बुधवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३ सय ५४ जना काठमाडौंका रहेका छन्।

मन्त्रालयका अनुसार हाल भक्तपुरमा २ हजार ३ सय२८ ललितपुरमा ३ हजार५७ र काठमाडौं ७ हजार ३ सय ३७ सक्रिय सङ्क्रमित रहेका छन्।

बुधवार धेरै सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा झापामा २ सय ३२, मोरङमा १ सय ६५, सुनसरीमा १ सय ५१, धादिङमा १ सय१३ र बाग्लुङमा १सय १४ रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ९ सय २ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय ७९ जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१० प्रतिशत महिला छन् भने ६०.९० प्रतिशत पुरुष छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.