काठमाडौं, ५ आषाढ । मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरपालिकासहित मध्यपुर,चाँगुनारायण,कागेश्वरी मनहरा र सिन्धुलीको मरिण गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेका छन् ।
यसैक्रममा काठमाडौंं महानगरपालिकाले ले दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले यस्तो घोषणा गर्नुभएको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकका दुई पालिकालाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० । १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताउनुभएको छ ।
यसैगरी भक्तपुरका चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु.१० लाख र हेलम्बु गाउँपालिकालाई रु. पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची जानु भएको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रु। २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले मेलम्चीलाई रु। ११ लाख ११ हजार १११ र हेलम्बुलाई रु. ११ लाख ११ हजार १११ गरि रु। २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उहाँले जानकारी दिनुभयो ।
प्राकृतिक विपद्मा परेको स्थानीय तहलाई सघाउने क्रममा सिन्धुलीको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
शुक्रबार मेलम्ची नगरपालिका पुग्नुभएका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गर्नुभएको थियो ।
उहाँले प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान गरिएको बताउनुभयो। हेलम्बुलाई प्रदेशसभा सदस्य युवराज दुलालमार्फत् चेक पठाइएको होे ।
साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैया आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिनुभएको छ ।
त्यस्तै मेलम्चीलाई हास्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गर्नुभएको छ ।


















