काठमाडौं, १६ आषाढ । काठमाडौं, १६ आषाढ । सरकारले नेपाल राष्ट्रको निर्माण अर्थात एकीकरण र विस्तार गर्दै मातृभूूमिको रक्षाको लागि ७४ बर्षको उमेरमा पनि दुश्मनसंग मैदानमा लडेर प्राण उत्सर्ग गर्ने बीर योद्धा सरदार भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ ।
लमजुड.को मोहोरियाकोटमा सन १७४१ मा जन्मनुभएका भक्तिथापा पहिले लमजुड.को सेनामा भर्ति भएर केहरि नारायणको पालामा गोर्खाली सेनाविरुद्ध लड्नुभएको थियो । तर पछि गोर्खाली फौजमा भर्ना हुनुभयो र गोर्खाको एकीकरणमा १७८९ मा पश्चिमको मोर्चा सम्हाल्नुभयो । जुम्ला एकीकरण गरेपछि १७९१ सम्मको दुई बर्षको अवधिमा नेपालको सीमाना विस्तार गर्दै सतलजसम्म पुगेपछि उहाँ गोर्खाली सेनाको सरदार मात्र हैन चेपेदेखि सतलजसम्मको प्रशासक पनि बन्नुभएको थियो ।
सन १८१५ मा अप्रिल १५ को साँझपख भक्ति थापा आफनो सुरजगढ किल्लाबाट मलाउ किल्लातर्फ आउनुभएको थियो । मलाउँ किल्ला वरपर छरिएर बसेको अंग्रेज फौजले सुइँँको नपाउने गरी । उहाँले त्यहाँको नेतृत्व गरिरहनुभएको अमरसिंह थापासंग त्यसक्षेत्रमा भएका सेैनिकहरुलाई नयाँ ढंगले एकीकृत गरी परिचालन गर्ने रणनीतिबारे छलफल गर्नुभयो ।
अर्को दिन अग्रेज फौजले आक्रमण गरिहाले । नातीलाई अमरसिंह थापाको जिम्मा लगाएर आफ्नो नेतृत्वमा अंग्रेज फौजको कठोर सामना गर्न उहाँ निस्कनुभयो । अग्रेजतर्फ ग्रेडेनियर बटायिन र अस्थायी फौज गरी करिब ३५ सय थिए । रातको सबा ३ बजेतिर उहाँ ४ सय नेपाली फौजको नेतृत्व गर्दै मातृभूमिको रक्षाको लागि नांगो तरबार लिएर रण मैदानमा उत्रिनुभयो । छातीमा गोली लागेर उहाँ ढल्नुभयो ।
नेपाली बीर भक्ति थापाको शवलाई अंग्रेज फौजका मेजर अक्टरलोनीले उनीको पछ्यौराले बेरेर ससम्मान नेपाली फौेजलाई हस्तान्तरण गर्नुभएको थियो ।
७४ बर्षको उमेर मातृभूमिको लागि जीवन उत्सर्ग गर्ने नेपाल आमाका सपूतलाई नेपाल सरकारले ढिलै भए पनि राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।
यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह, अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर साख्वा, पासाङल्हामु शेर्पा र महागुरु फाल्गुनन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ ।


















