काठमाडौं, २१ आषाढ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुई चरणको निर्वाचन कार्यक्रममा उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका बुँदा समेटिएका छन्।
दुवै निर्वाचन प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते नै शुरू गरिने आयोगको कार्यक्रममा उल्लेख छ।
मन्त्रिपरिषद्को सिफारिसमा जेठ ७ गते मध्यरातपछि( जेठ ८ गते बिहान १ बजेर ४९ मिनेट जाँदा) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते पहिलो चरणको र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गर्नुभएको थियो।
सरकारको कदम असंवैधानिक भन्दै सर्वोच्च अदातलमा दायर मुद्दामाथि सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ।
यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी केपी शर्मा ओली सरकारकै निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुनर्स्थापित गरिरिदएको थियो।
आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय दिएको छ।
आयोग सरकारको प्रभावमा
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको निर्णय आउनुअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ।
काँग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचन आयोगको भूमिका कामकारबाही निष्पक्ष हुन नसकेको टिप्पणी गर्नुभएको छ।
“सर्वोच्च अदालतको फैसलाको पूर्वसन्ध्यामा सरकारलाई मद्दत पुर्याउने खालको काम उचित भएन। यसले आयोग सरकारको प्रभावमा बढ्न चाहेको सङ्केत गरेको छ”, खाँणले थप्नुभयो।
निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुअघि विगतमा आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने गरेको भए पनि यसपालि त्यो परम्परालाई पनि लत्याइएको उहाँले टिप्पणी गर्नुभयो।(बीबीसी)


















