काठमाडौं, २१ आषाढ । प्राणघातक कोरोना भाइरसको संक्रमणबाट नेपालमा विगत २४ घण्टामा २३ जनाको मृत्यु हुन गएको छ भने थप २ हजार ६सय २२ जना विरामी भएका छन्।
विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित ह् यो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार हाल नेपालमा कोराना भाइरसबाट सङ्क्रमित हुनेहरुको कूल सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय भन्दा बढी छ।
केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या घटेको छ। तर परीक्षण पनि घटाइएको छ।
पछिल्लो २४ घण्टामा लगभग ७ हजार ५ सय जनाको पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको जनाइएको छ।
दक्षिण एशियामा नेपाल कति प्रभावित छ ?

दक्षिण एशियामा कुल सङ्क्रमित र कुल मृत्यु हुने सङ्ख्याका हिसाबले नेपाल चौथो प्रभावित मुलुक बनेको छ।
सङ्ख्यात्मक हिसाबले प्रभावित हुनेमा एक नम्बरमा भारत, दोस्रोमा पाकिस्तान, तेस्रोमा बङ्लादेश र चौथोमा नेपाल परेको छ।
औपचारिक रूपमा पुष्टि भएर जोन्स हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कका आधारमा भारतमा कुल जनसङ्ख्याको २.२ प्रतिशत सङ्क्रमित भएका छन् भने त्यसकै हाराहारीमा नेपालमा कुल जनसङ्ख्याको २.१ प्रतिशत मानिस सङ्क्रमित भएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका पछिल्लो तथ्याङ्क अनुसार सङ्ख्यात्मक हिसाबले भारत कोभिडबाट सबभन्दा बढी प्रभावित मुलुक हो, त्यहाँ ३ करोड ५ लाख ८५ हजार २ सय २९ जना कुल सङ्क्रमित छन् भने ४ लाख२ हजार ७ सय २८ जनाको कोभिडका कारण ज्यान गएको छ।
जोन्स हप्किन्सकै तथ्याङ्क अनुसार नेपालमा ६ लाख ४४ हजार ६ सय २२ जना सङ्क्रमित भएका छन् भने हालसम्म ९ हजार २ सय जनाको मृत्यु भइसकेको छ।
पाकिस्तानमा जम्मा ९ लाख ६३ हजार ६ सय ६० जना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या २२ हजार ४ सय २७ छ। बाङ्लादेशमा ९ लाख ४४ हजार ९ सय१७ जना सङ्क्रमित छन् भने १५ हजार ६५ को ज्यान गएको छ।
सानो मुलुक मालदिभ्स सबभन्दा बढी प्रभावित देखिन्छ। त्यहाँ हालसम्म ७४ हजार ३ सय ५१ जना सङ्क्रमित भएका छन् भने २ सय १३ जनाको मृत्यु भएको छ।
भुटानमा सबभन्दा कम २ हजार १ सय ५९ जना सङ्क्रमित छन् भने जम्मा १ जनाको मृत्यु भएको छ।
अरू तथ्याङ्क के छ ?

नेपालमा सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने ६० प्रतिशत पुरुष रहेका छन्।
पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।
हाल २२ हजार ९ सय ९८ जना घरमै आइसोलेशनमा रहेका र २ हजार ६ सय ९२ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी सघन उपचार कक्षमा ५ सय ७१ जना र भेन्टिलेटरमा १सय ८० जना रहेको तथ्याङ्क छ।



















