Prakash Adhikari July 22, 2021

काठमाडौं, ७ साउन । पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्ने कलाको अभाव र नेतृत्वको सत्ताउन्मादले प्रतिपक्षमा थच्चारिन पुगेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताच्यूत भएको १० औं दिनमा पार्टीका सबैलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, “आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्र्यान्टेड (आममाफी दिइयो)।”

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेले आफ्नै कारण ‘ठूलो क्षति बेहोरेको’ बताएका ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न आह्वान गर्नुभएको हो।

पुष्पलालकै सम्झनामा काठमाडौंमा आयोजित एक बेग्लै कार्यक्रममा नेता माधवकुमार नेपालले भने अपमान सहेर नबस्ने बताउनुभएको छ।

अदालतप्रति असन्तुष्टि

ओलीले आफ्नो सरकार ढाल्नका लागि ‘डेढ वर्षदेखि लगातार ठोस प्रयासहरू भएको’ र त्यसबाट नसकेपछि परमादेशको सहायता लिइएको आरोप लगाएका छन्।

ओलीले अदालतमाथि जनताको विश्वास बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिने सर्वोच्चको पछिल्लो निर्णयप्रति असन्तुष्टि पोख्नुभएको छ।

‘संविधान जसले पनि पढ्न सक्ने” बताउँदै ओलीले भन्नुभयो, “तर जे गरे पनि विश्वास गर्नै पर्छ, जे गरे पनि मान्नै पर्छ भन्ने सोचियो भने विश्वास रहन्छ कि रहँदैन भन्ने चिन्ता त्यो हो।”

२०५९ सालको फैसलाले राजनीतिमा अदालत नपस्ने नजिर रहेकामा ‘यहाँ पार्टी सञ्चालनका मामलामा समेत आदेश गर्न नपाउने, ह्विप गर्न नपाउने’ भन्दै असन्तुष्टि पोख्नुभएको थियो।

ओलीले सरकारमा नरहे पनि दुवै सदनदेखि धेरैतिर आफूहरू प्रमुख राजनीतिक शक्ति भएको बताउनुभयो।

 नेपाल अपमान सहेर नबस्ने 

नेपाल

आजै पुष्पलालकै संझनामा गरिएको अलग्गै कार्यक्रमलाई संबोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोही आफ्नो बनेको घरबाट बाहिर निस्कन नचाहने बताउनुभएको थियो।

उहाँले थप्नुभयो, ‘तर अपमान सहेर कोही पनि बस्दैन। गलत, सबै खालका कुकर्महरू हुँदा हुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन।”

एमालेका २२ सांसदले पार्टीको निर्देशन विपरीत विश्वासको मतको मतदानमा देउवालाई भोट दिएका थिए।

जसपछि एमालेले नेपालसहितका ती नेताहरूलाई विधान विपरीतका कार्यहरू गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

बिहीवार नै ओलीलाई बुझाएको स्पष्टीकरणमा नेपालले विश्वासको मत लिन नसक्दा ुराजीनामा नदिई, पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतका कुराु भएको जनाउनुभएको छ।

नेता नेपालले संविधान र पार्टीको विधानमा टेकेर देउवालाई मत हालेको बताउनुभएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.