काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले भरिसक्य पार्टीका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै भरसक पार्टीका बैठकहरु बालुवाटारमा नराख्न निर्देशन दिएपछि पार्टीका पदाधिकारीहरुले यस्तो बैठक कि पार्टी कार्यालयमै कि सभापतिको निजी निवास बुढानीलकण्ठमा आयोजना गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिको आदेश अनुसार भोलि शुक्रबार पदाधिकारीको बैठक सभापति देउवाकै निजी निवास बुढानिलकण्ठमा गर्ने गरी बोलाइएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीका हरेक गतिविधि बालुवाटारबाट गरेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएकोले नयाँ सरकार गठनभएदेखि नै पार्टीका गतिविधिहरु सरकारी निवास बालुवाटारमा नगर्न प्रधानमन्त्री देउवालाई सुझावहरु आएका थिए ।
सामाजिक सञ्जालमा आएका सुझाबहरुलाई मनन गर्दै प्रधानमन्त्रीले पार्टीका गतिविधिहरु बालुवाटारमा आयोजना नगर्न पदाधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।
नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको संघारमा छ । महाधिवेशनका तयारीका लागि साउन १२ मा वडा अधिवेशन गर्ने समयतालिका सार्वजनिक भएको छ तर वडातहका मतदाता मानिएका क्रियाशील सदस्यहरुको टुंगो अहिलेसम्म लागेको छैन।
क्रियाशील सदस्यता विवादको कारण पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले धर्ना दिएकोले पदाधिकारी बैठक बुढानीलकण्ठमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सहभागितामा हुने कार्यक्रमहरुमा भीभीआईपी सुरक्षा प्रदान गर्नुपर्ने भएकोले सामान्यतः सबै प्रधानमन्त्रीहरु आफ्नो संलग्नता अधिक हुने कार्यक्रम आफ्नो सरकारी निवासमा गर्न विवश हुँदै आएका छन् ।
बालुवाटारमा बैठक बस्दा राज्यका अन्य काममा पनि सरिक हुन पाइने तर बाहिर बस्दा लामोसमय राज्यका राजकीय र अपरिहार्य काममा बिलम्ब हुने भएकोले प्रधानमन्त्रीहरुको कार्यक्रम बालुवाटारमा बढी हुने गरेको हो ।
राज्यका राजकीय र प्रशासनिक काम प्रधानमन्त्रीको सरकारी कार्यालय र सरकारी निवास बाहिरबाट सम्पादन हुनु झन शोभनीय मानिदैन, बरु अधिक आलोच्य हुनजान्छ ।


















