काठमाडौं, ८ साउन । निर्वाचन आयोगले पार्टी दर्ता हुँदाका बखत पेश गरिएको केन्द्रीय कार्यसमितिका सदस्यहरुको गणना अर्थात हेड काउण्टका आधारमा पार्टीको आधिकारिकताको टुंगो लगाउने निर्णय गरेपछि त्यसलाई रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्चमा पुग्नुभएको छ ।
पार्टीको संस्थापक कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बढी भएकोले निर्णय उहाँको पक्षमा जाने देखिएपछि ठाकुर त्यसलाई रोक्न सर्वोच्चमा जानुभएको हो ।
२०७७ आषाढ १२ गते निर्वाचन आयोगमा बुझाएको कागजातमा भएका केन्द्रीय सदस्यहरु मध्ये उपेन्द्र यादव पक्षमा दुई तिहाई र महन्थ पक्षमा एक तिहाई रहेको बताइन्छ ।
अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ।


















