टोकियो(जापान), १० साउन । टोकियो ओलम्पिकको पहिलो दिन विभिन्न खेलका ११ इभेन्टका स्वर्ण पदकको टुंगो लागेको छ । तर नेपालका दुई खेलाडी भने प्रतियोगिताो सुरुआती चरणबाटै बाहिरिन पुग्नुभएको छ ।
सुरुआतका दुई स्वर्ण चीनले जितेको छ । शनिबार चीनले सुटिङ र भारोत्तोलनमा दुई स्वर्ण जितेको हो ।
याङ क्विनले १० मिटर एयर राइफलमा स्वर्ण जित्नुभयो भने होउ जिहुइले ४९ केजी तौल समूहबाट २ सय १० केजी भार उचालेर ओलम्पिक कीर्तिमानसहित स्वर्ण हासिल गर्नुभयो ।

साइक्लिङको रोड रेस विधामा इक्वेडरका रिचार्ड कारापाजले स्वर्ण जितेर कीर्तिमान राख्नुभयो । उहाँ ओलम्पिकमा स्वर्ण जित्ने इक्वेडरका दोस्रो खेलाडी हुनुहुन्छ ।
‘आर्चरीको मिक्स स्पर्धामा स्वर्ण जितेर दक्षिण कोरियाले पदक खाता खोल्यो । यो स्पर्धा ओलम्पिकमा पहिलोपल्ट समावेश गरिएको हो ।
टोकियो ओलम्पिकमा शनिबार ११ स्वर्णको छिनोफानो भएको छ ।
आयोजक राष्ट्र जापानले शनिबार नै स्वर्णको खाता भने खोलेको छ । जुडोको पुरुष ६० केजीमुनि जापानका ताकातो नाओहिसाले चाइनिज ताइपेईका याङ युङ वेईलाई गोल्डेन स्कोरका आधारमा हराउँदै स्वर्ण जित्नुभएको छ ।
एसियाली देश इरानले पनि स्वर्णमा खाता खोल्यो । इरानका जाभेद फोरोउघीले १० मिटर एयर पेस्तोलमा स्वर्ण जित्नुभएको छ ।
तेक्वान्दोमा महिला ४९ केजीमुनि थाइल्यान्डकी पानिपाक वोङपातानाकितले स्पेनकी एन्ड्रियाना सेरेजोलाई हराएर स्वर्ण जित्नुभयो ।
पुरुष ५८ केजीमुनि ट्युनिसियाका मोहम्मद खलिलले स्वर्ण जित्नुभयो । उहाँले इटलीका डेलाक्विला भिटोलाई हराउनुभएको थियो ।
टोकियो ओलम्पिकमा हालसम्म चीनले ३ स्वर्ण एक कास्य, इटालीले एक स्वर्ण एक रजत,जापानले एक स्वर्ण एक रजत, दक्षिण कोरियाले एक स्वर्ण दुई कास्य, इक्वेडर,हंगेरी,इरान, कोसोभो र थाइलैण्डले एक एक स्वर्ण जितेका छन् ।
नेपालका दुई खेलाडी बाहिरिए
टोकियो ओलम्पिकको उद्घाटनको दोस्रो दिनको नेपालका दुई खेलाडि खेलबाट बाहिरिन पुग्नुभएको छ ।
उद्घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाउनुभएको थियो ।

नेपाली खेलाडी कल्पना परियार (बीचमा रहेकी, रातो लुगा लगाएकी) टोक्यो ओलिम्पिक्समा
टोक्यो ओलिम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित हुनुभएको हो ।
तर शुटिङकी कल्पना परियारले पराजित भएपनि नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गर्नुभएकी कल्पनाले प्रारम्भिक चरणमा ६सय १६. ८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोड्नुभएको हो।
उहाँले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रच्नुभएको थियो।
टोकियोको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा भने उहाँ समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्नुभयो।
कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोड्नुभएको थियो।
प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गर्ने मौका पाएका थिए ।
एक मिनेट १६ सेकेन्ड
महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित हुन पुग्नुभयो।

सोनिया भट्ट (निलो रङको लुगामा)
इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र मैदानमा टिक्नुभयो ।
प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगेमा भने भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेकोमा कांस्य पदकका लागि खेल्न पाउने मौका पाउने संभावना भने रहेको छ।
कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी हुनुभएको हो।
ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ।
एथलेटिक्स टोली शनिवारमात्र जापान प्रस्थान गरेको छ।


















