काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ।
शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको जानकारी दिनुभएको छ।
क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उहाँले बताउनुभयो।
स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताउनुभयो।
केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो।
प्रवक्ता शर्माका अनुसार वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने छ।
पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन्।
पदाधिकारी बैठकमा पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानुनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको थियो।
कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुने गरी मिति तोकेको छ।


















